Logo

मनोरञ्जन

बिर्तामोडमा लक्ष्मण सङ्गमको एकल गजल वाचन हुँदै



काठमाडौं । पछिल्लो समय नेपाली साहित्यको लोकप्रिय विधाका रूपमा परिचित नेपाली गजल लेखनमा सक्रिय गजलकारहरूमध्ये एक हुन् अछामका लक्ष्मण सङ्गम ।

यही माघ १३ गते झापाको शनिश्चरे रोड बिर्तामोडमा आयोजना हुने कार्यक्रममा सङ्गमको एकल गजल प्रस्तुति हुने भएको छ । दिउँसो ३:०० बजेदेखि ३:४० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा गजलकार सङ्गमले आफ्ना उत्कृष्ट गजलहरूमार्फत् दर्शकहरूको मन जित्ने आँकलन गरिएको छ ।

गजलवाचनको देश दौडाहा क्रममा झापामा पहिलो पटक सुनिन लागेका सङ्गमले झापामा आएर गजल सुनाउनु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । गत माघ ९ गते धनकुटा जिल्लाको पाख्रिबासमा समेत गजलकार सङ्गमको एकल गजल साँझ रहेको थियो ।

देशका विभिन्न शहरहरूमा आयोजना हुने गजल महफिल, गजल वाचन र गजल साँझहरूमा उनले आफ्नो गजलमार्फत् निकै चर्चा बटुलिरहेकन छन् । एकदशकभन्दा लामो समयदेखि नेपाली गजलमा कलम चलाइरहेका गजलकार सङ्गमक‍ो ईन्द्रेणी २ नामक संयुक्त बहरबद्ध गजल सङ्ग्रह, २०७३ प्रकाशित छ । एकल गजल सङ्ग्रहको अन्तिम चरणमा पुगेका सङ्गमले नेपाली कविताको क्षेत्रमा पनि कलम चलाउँदै आइरहेका छन् ।

राष्ट्रिय कविता प्रतियोगिता एवम् गजल प्रतियोगितामा समेत पुरस्कृत भइसकेका सङ्गम राष्ट्रियस्तरमा स्थापित पुरस्कारबाट पनि सम्मानित भइसकेका छन् ।

नेपाल सरकारको निजामती सेवाअन्तर्गत रक्षा मन्त्रालयमा कार्यरत सङ्गमले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत व्याकरणमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । अहिले त्रिभुवन विश्वविद्यालयमा एम्.ए. तहमा अध्ययनरत छन् ।

उनले साहित्यलेखनबाट आफूलाई बेग्लै आनन्द मिल्ने र सो आनन्द एवम् उचित शिक्षा अरूलाई पनि दिन सकेमा साहित्य लेखनको औचित्य पूरा हुने बताए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १४:४९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।