Logo

समाचार

भ्रुण हत्या नगरौं, असुरक्षित गर्भपतनले ज्यानै लिनसक्छ



नेपालले सेप्टेम्बर २००२ मा गर्भपतनलाई वैधानिकता दिएको प्रक्रियागत आदेश २००३ मा पारित भएको थियो। पहिलो पटक व्यापक गर्भपतन सेवा (सीएसी) सेवा मार्च २००४ मा काठमाडौंको प्रसूति अस्पतालमा सुरु भएको थियो। जस अनुसार महिलाको मन्जुरीमा १२ हप्तासम्मको गर्भ, जबरजस्ती करणी र हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन सकिने छ।

गर्भपतन नगराएमा गर्भको कारणले महिलाको जीवन र स्वास्थ्यमा खतरा पर्ने, शारीरिक तथा मानसिक रूपले महिलाको स्वास्थ्यमा असर पर्ने भएमा र विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्य चिकित्सकको रायले जुनसुकै अवधिको गर्भ गर्भपतन गर्न पाइने व्यवस्था रहेको छ।

तर, अझै पनि सुरक्षित हिसाबले सेवा नलिँदा कतिपयको ज्यान जोखिममा पर्ने गरेको छ। सुरक्षित गर्भपतनसम्बन्धी कानुनको ज्ञानमा कमी, सेवामा सर्वसुलभ र सहज पहुँच नहुँदा अझैँ पनि समस्या रहँदै आएको छ। गर्भपतनविरुद्ध रहेका नकारात्मक धारणा र विभेदको कारण महिलाहरू प्रायः असुरक्षित गर्भपतनको बाटो रोज्न बाध्य हुन्छन्। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका त्रिपाठी भन्छिन् ‘अहिले पनि धेरै महिलाहरूले असुरक्षित गर्भपतन गराइरहेको पाइन्छ। जसले निकै खतरा रहेको पाइन्छ।

के हो गर्भपतन?

५०० ग्रामको भन्दा कमको भ्रूण २२ हप्ताभित्रको भ्रूण आफैँ निस्केमा या निकालिनुलाई गर्भपतन भनिन्छ।

कसैको हस्तक्षेप बिना आफैँ भ्रूण निस्किएमा स्प्नटेनेस भन्छ, कसैको हस्तक्षेपमा निकालियो भने इन्डियुसट भनिन्छ। यो एक सामान्य स्वास्थ्य हस्तक्षेप हो। यो अनिच्छित गर्भधारण रहेमा भन्नाले महिनावारी भएको दिनबाट गणना गर्दा २८ हप्ता भन्दा पहिले गर्भमा भएका भ्रूण, विकसित भ्रूण अथवा शिशु बाहिर निस्कने प्रक्रियालाई बुझिन्छ। विकसित देशहरूमा भने विभिन्न आधुनिक उपकरणको प्रयोग गरी बचाउन सकिने हुनाले २२ हप्ता अघिको ५०० ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ।

किन हुन्छ गर्भपतन?

१. पाठेघरको संक्रमणले गर्भपतनको जोखिम हुन्छ। साइटो मेगालो भाइरस, सिफिलिस, रुबेला, हर्पिस जस्ता रोगहरूको कारणले पनि गर्भपतन हुनेगर्छ।

२. वंशाणुगत तथा भ्रूणमा क्रोमोजोमको विकृति रहेछ भने पनि गर्भपतन हुनसक्छ।

३. पाठेघरको समस्या भएमा पनि गर्भपतन हुनसक्छ। जस्तैः अति सानो पाठेघर हुनु, पाठेघरको मुख खुकुलो हुनु जस्ता कारणले गर्भपतन हुन्छ।

४. हर्मनको गडबडी जस्तैः मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढङ्गले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ।

५. गर्भवती अवस्थामा गहुँको भारी उचाल्नाले पनि गर्भपतन हुन सक्छ।

६. पहिले पनि गर्भपात भएको छ भने फेरि पनि गर्भपतनको जोखिम रहन्छ। यदि पहिले एक वा बढी गर्भपात भएको छ भने गर्भपतन हुने उच्च जोखिम रहन्छ। दीर्घकालीन स्वास्थ्य समस्या भएमा पनि गर्भपतनको जोखिम रहन्छ। अनियन्त्रित मधुमेहले गर्भपतनको उच्च जोखिम रहन्छ। पाठेघर वा पाठेघर सम्बन्धी समस्याहरूले पनि गर्भपतन हुन्छ। पाठेघरको केही अवस्था वा कमजोर पाठेघरको तन्तुहरू, जसलाई असक्षम गर्भाशय ग्रीवा पनि भनिन्छ। यस्तो अवस्थाले पनि गर्भपातको सम्भावना बढाउन सक्छ।

७. धुमपान, मध्यपान, क्याफिन वा अल्कोहलको अत्यधिक प्रयोगले पनि जोखिम बढाउँछ।

८. वजनसम्बन्धी समस्याले पनि गर्भपातको समस्या रहन्छ। कम तौल हुनु वा बढी तौल हुनुलाई गर्भपातको उच्च जोखिमसँग जोडिएको छ।

९. कम उमेरमा बच्चा पाउनाले पनि गर्भपतन हुने जोखिम हुन्छ। ३५ वर्षभन्दा कम उमेर भएमा गर्भपतनको जोखिम उच्च हुन्छ। ३५ वर्षको उमेरमा गर्भपतनको जोखिम लगभग २० प्रतिशत, ४० वर्षको उमेरमा जोखिम लगभग ३३ देखि ४० प्रतिशत र ४५ वर्षको उमेरमा ५७ देखि ८० प्रतिशतसम्म जोखिम हुन्छ।

असुरक्षित गर्भपतन मातृ मृत्यु र बिरामीको प्रमुख कारण हो। यसले शारीरिक र मानसिक स्वास्थ्यमा जटिलता ल्याउँछ। महिला, समुदाय र स्वास्थ्य प्रणालीहरूको लागि सामाजिक र आर्थिक भार निम्त्याउन सक्छ। अनिच्छित गर्भ रोक्नको लागि गर्भनिरोधक साधनको जानकारी, त्यस्ता साधनको सहज उपलब्धता तथा पहुँच हुनुपर्छ।

गर्भपतनका लक्षणहरू

धेरैजसो गर्भपात गर्भावस्थाको पहिलो त्रैमासिकमा हुन्छ। दुखाइका साथै कारण बिनै योनीबाट रगत बग्नु, हल्का रक्तस्रावसहित हुनुलाई स्पटिङ्ग भनिन्छ। पेल्भिक क्षेत्रमा वा तल्लो ढाडमा दुखाइ वा क्र्याम्पिङ्ग। योनीबाट तरल पदार्थ वा तन्तु निस्कने हुन्छ। छिटो मुटुको धड्कन बढ्छ। रक्तस्राव भारी वा क्र्याम्पिङ्ग दुखाइको साथ हुन्छ। कुनै कुनै बेला पाठेघरको मुख खुला भयो भने अधिक बेट नदुखेर पनि बच्चा तुहिन (भ्रुण समाप्त) हुनसक्छ।

(अनलाइन पानाका लागि डा. त्रिपाठीसँग भूमिका के. बिष्टले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार ११:५८   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।