काठमाडौं- चाबहिलस्थित गणेश थान नजिँकै एक टहरो छ। जहाँ रङ्गिन फूलहरू फुलेका छन्। पसलमा बिहान पख मन्दिर जानेहरू पूजाको सामग्री किन्ने गर्छन्। पूजाका लागि फूल किन्नेहरूको भीड देखिन्छ। कहिलेकाहीँ युवा-युवतीहरू एक आपसमा भेट्नका लागि वा साथीहरूलाई भेट्न जानका लागि पनि फूल किन्न आइरहेका हुन्छन्। त्यो टहरोमा त्यसरी फूलको व्यवसाय गरिरहेका व्यक्ति हुन् प्रदीप अधिकारी।
प्रदीप केही वर्षअघि नेपालमा अवर नै छैन भन्दै ऋण लिएर बिदेसिएका थिए। उनले तीन वर्ष विदेशमा काम गरे। विदेशमा काम गर्दा थुप्रै संघर्ष गर्नुपर्यो। विदेशमा सोचे जस्तो काम सहज हुँदैन। आफ्नो देश, परिवार र साथीभाइ हुँदैनन्। उनले यी सबै कुरालाई विदेशमा हुँदै खुब सम्झिए। तीन वर्ष काम गरिसकेपछि उनको मनमा सोच पलायो कि यति दुःख गर्ने हो भने आफ्नै देशमा पनि सफलताको फूल फुलाउन सकिन्छ। विदेशमा कमाएको पैसा जाँदा लागेको ऋण तिर्नै ठिक्क भयो। नेपाल फर्किएपछि उनले फूल बेच्ने व्यवसाय गरे सुरु गरे। सानो लागतमा सुरु गरेको व्यवसायबाट अहिले उनी मनग्य आम्दानी गरिरहेका छन्।
अहिले उनलाई तीन वर्ष विदेशमा व्यर्थै बिताए छु झैँ लाग्ने गर्छ। ‘विदेशमा बिताएको समय नेपालमै केही गरेको भए आज म झनै अगाडि बढेको हुने थिए। विदेशमा समय र श्रम व्यर्थै खेर गयो,’ उनले भने।
प्रदीपको घर सिन्धुली हो। उनी परिवारका साथ काठमाडौं बस्न थालेको लामो समय भइसकेको छ। वि. सं. २०४७ सिन्धुलीमा जन्मिएका प्रदीपका ६ जना भाइबहिनी छन्। सिंगो परिवारको पालनपोषणको जिम्मेवारी उनका बुबा एक्लैको काँधमा थियो। गाउँमा खेती गर्दै परिवार धान्न गाह्रो भएपछि प्रदीपका बुबा कामको खोजीमा काठमाडौं आएका थिए। ज्याला मजदुरी गर्दै गरेर काठमाडौंमा परिवार पाल्न सहज थिएन। त्यसपछि उनका बुबाले तरकारी बेच्न काम गर्न थाले। व्यापारबाट नाफा हुँदै गयो र परिवार पाल्न पनि सहज हुन थाल्यो।
उनले आफूले बच्चैदेखि देख्दै आएको फूलको व्यवसाय गर्ने योजना बनाए। उनले साथीको माध्यमबाट फूल ल्याएर बेच्न सुरु गरे। व्यवसाय गर्न उपयुक्त ठाउँ उनले बुबाले पहिले तरकारी व्यवसाय गर्दै आएको चाबहिल नै रोजे।
उनका बुबाले २०५८ सालमा श्रीमती र छोराछोरीलाई व्यवसायमा सघाउन काठमाडौं ल्याए। त्यति बेला प्रदीप गाउँकै विद्यालयमा कक्षा ४ मा पढ्थे। त्यसपछि उनी काठमाडौं पढ्न थाले। बिहान विद्यालय गए पनि बेलुकीको समय र बिदाको दिन बुबालाई सघाइरहेका हुन्थे। प्रदीपले चाबहिलस्थित पशुपति स्कुलबाट २०६५ सालमा एसएलसी पास गरे। त्यसपछि उनले आर्थिक अभावकै कारण शिक्षालाई अगाडि बढाउन सकेनन्। बुबालाई व्यवसायमा सघाउन थाले।
व्यवसायबाट घर राम्रैसँग चलिरहेको थियो। साथीभाइले देशमा केही छैन, यसरी कमाएको पैसाले भविष्य नबन्ने भन्दै प्रदीपलाई विभिन्न कुरा सुनाउन थाले। उनलाई पनि साथीभाइका कुरा ठिकै हुन् कि झैँ लाग्न थाल्यो। पैसा कमाउने सोच बोकेर उनी साथीहरूसँग भारत प्रस्थान भए। केही समय भारतमा काम गरेपछि पुनः नेपाल फर्किए। त्यसपछि उनमा विदेश जाने मोह पलायो। साथीभाइहरूसँग ब्याजमा पैसा मागेर मलेसिया गए।

मलेसियामा उनले तीन वर्ष काम गरे। उनले ३ वर्षमा १७ लाख कमाए। गएको ऋण तिरेर उनीसँग १३ लाख बचेको थियो। घरमा पुरानो ऋण पनि थियो। बचेको १३ लाख पनि उनले ऋण तिरेर सके। त्यसपछि पैसा नहुँदा पनि अब नेपालमै केही व्यवसाय गर्छु भन्ने सोच उनमा पलायो। उनले आफूले बच्चैदेखि देख्दै आएको फूलको व्यवसाय गर्ने योजना बनाए। उनले साथीको माध्यमबाट फूल ल्याएर बेच्न सुरु गरे। व्यवसाय गर्न उपयुक्त ठाउँ उनले बुबाले पहिले तरकारी व्यवसाय गर्दै आएको चाबहिल नै रोजे।
सुरुमा उनले दिनको ५ देखि ६ हजारको फूल ल्याउँथे। फूल बचेको ५० प्रतिशत आफू राख्ने र ५० प्रतिशत फूल ल्याउने ठाउँमा बुझाउँथे। चाबहिल गणेश थान नजिकै उनको फूलको पसल छ। गणेश मन्दिरमा दर्शन गर्न आउनेहरूले उनीबाट फूल किन्ने गर्छन्। बिस्तारै उनले त्यहाँ पूजाका सामग्री पनि राख्न सुरु गरे। यसरी उनी कहाँ आउने ग्राहक बढ्दै गए। विवाह, व्रतबन्धमा पनि उनको पसलमा फूलको माग हुन थाल्यो। त्यसपछि विवाहको लागि माला बनाउने, गेट सजाउनको लागि माला माग गर्नेको संख्या बढ्न थाल्यो। सुरुकै वर्षमा उनले आठ/नौ लाख आम्दानी गरे।
प्रदीपले अहिले व्यवसाय सञ्चालन गरेको ६ वर्ष भैसकेको छ। उनी अहिले मनग्य आम्दानी गरिरहेका छन्। उनको फूल पसल अहिले पनि फुटपाथमा नै छ। फूलमाला सधैँ चाहिने भएकाले आम्दानी राम्रै हुने गरेको उनी सुनाउँछन्। अन्य समयभन्दा विवाहको सिजनमा राम्रो आम्दानी हुने गरेको उनले बताए। उनी आफ्नो व्यवसायबाट खुसी छन् र विदेश जाने युवाहरूलाई पनि स्वदेशमै केही गर्न आग्रह गर्छन्।




















प्रतिक्रिया