Logo

खेलकुद

प्रधानमन्त्री कप: आर्मीको पाँचौँ जित, कर्णालीको पाँचौँ हार



काठमाडौं ।  त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइबार खेलिएको खेलमा कर्णाली प्रदेशलाई एक सय ६४ रनको विशाल अन्तरले पराजित गरेको छ ।

जारी प्रतियोगितामा हालसम्म सात खेल खेलेको आर्मी क्लबको यो पाँचौँ जित हो । दुई खेलमा आर्मी क्लब पराजित भएको छ । आठौँ खेल खेलेको कर्णाली प्रदेशको भने यो पाँचौँ हार हो । तीन खेलमा भने कर्णाली प्रदेशले सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ७९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने २९ ओभरमै अलआउट हुनुअघि एक सय १५ रनमात्र बनाउन सक्यो ।

अल राउन्डर द्वय कुशल मल्ल र विवेक यादवले समान ३-३ विकेट लिए । कुशलले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ९ रन दिएर ३ विकेट लिए । यस्तै विवेकले ६ ओभरमा २ मेडन सहित २५ रन दिएर ३ विकेट लिए । सोमपाल कामीले दुई विकेट लिँदा शाहब आलमले एक विकेट लिन सफल भए ।

कर्णालीका लागि हिमान्शु शाहीले सर्वाधिक १९ रन बनाए । यस्तै दिवन पुनले १३ बलमा १८ रन बनाए । बिपिन शाहीले १४ रन बनाए भने कप्तान रबिन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले समान १२ रन बनाए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले कप्तान बिनोद भण्डारी र बसिर अहमदको कीर्तिमानी साझेदारीको मद्दतले विशाल योगफल खडा गर्यो । आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनायो ।

बिनोद र बसिरले १६९ रनको साझेदारी गर्दै छैठौ विकेटका लागि प्रधानमन्त्री कप इतिहासको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०१९ मा दिलिप नाथ र किशल भुर्तेलले कर्णाली विरुद्ध नेपाल पुलिस क्लबका लागि कर्णाली प्रदेश विरुद्ध नै १३९ रनको साझेदारी गरेका थिए ।

बिनोदले शतक समेत पुरा गरे । इनिङको अन्तिम बलमा दुई रन लिँदै उनले शतक पुरा गरेका थिए । उनी १३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै १०० रनमा अविजित रहे । बसिर भने शतक बनाउन बाट चुके । उनी ९२ बलमा १२ चौका र १ छक्का सहित ९८ रनमा नटआउट रहे । २२औ ओभरमा १००-५ को अवस्थाबाट कप्तान बिनोद भण्डारी र बसिर अहमदले इनिङ सम्हालेका थिए ।

आर्मीले सुरुवात भने खराब गरेको थियो । इमरान शेखलाई पहिलो ओभरमा नै गुमाएको थियो । उनी प्रकाश जैशीको बलमा क्याच आउट भएका थिए । सन्तोष कार्की पनि ११ रन मात्र बनाएर दिपेन्द्र रावतले शिकार बने । तेस्रो नम्बरमा आएका भिम शार्की पनि ३५ बलमा २५ रन बनाएर दिपेन्द्रकै बलमा नै आउट भए । विवेक यादवलाई दिवन पुनले ६ रनमा क्याच आउट गराए ।

युवा ब्याटर कुशल मल्लले १८ बलमा २ छक्का सहित २१ रन बनाएर दिनेश अधिकारीको बलमा प्रकाशद्वारा क्याच आउट भए । २२औ ओभरमा कुशल आउट भएदेखि आर्मीको कुनै पनि विकेट खसेन ।

कर्णालीका लागि ९ ओभरमा ४५ रन खर्चिंदै २ विकेट लिए । यस्तै प्रकाश जैशी, दिनेश अधिकारी र दिवन पुनले समान एक एक विकेट लिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १५:४८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।