Logo

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई ६४ रनमा अल आउट गर्दै आर्मी फाइनलमा



काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै फाइनलमा पुगेको छ । आर्मीले उपाधिको लागि पुलिससँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा ६४ रनमा अल आउट भयो । सामान्य विजय लक्ष्य पछ्याएको गण्डकी प्रदेशका ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न सकेनन् ।

ओपनर इश्वर क्षेत्रीले १६ रन बनाए । चौथो नम्बरका ब्याट्सम्यान करण पंगेनीले १५ रन जोडे । गण्डकी प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मी क्लबका बलर साहब आलमले चार विकेट लिए । उनले सात ओभरमा दुई मेडन राख्दै केवल १७ रन खर्चिए । जितेन्द्र मुखियाले पनि दुई विकेट हात पारे । कुशल मल्लले पनि दुई विकेट लिए ।

त्यसअघि लिग चरणको आफ्नो अन्तिम खेलमा आर्मी क्लबका ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान इमरान शेखले ३४ रन बनाए । उनले ६४ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । अर्का ओपनर सन्तोष कार्की भने केवल दुई रन बनाउँदै पेभेलियन फर्किए ।

अनुभवी खेलाडी भीम सार्की पनि १० रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान विनोद भण्डारी पनि १९ रनमै आउट भए । सन्दीप रजाली र बसिर अहमदले त खातासम्म खोल्न सकेनन् । बिवेक यादब पनि एक रन बनाउँदै पेभेलियन फर्किए ।

तल्लो क्रमका ब्याट्सम्यान कुशल मल्लले टोलीको खातामा १५ रन थपे । सोमपाल कामीले २३ रन बटुले । उनले ३९ बलमा दुई चौका पनि हिर्काए । साहब आलमले अविजित १२ र जितेन्द्र मुखियाले आठ रन बनाए ।

आर्मी क्लबले अतिरिक्त रुपमा आठ रन पायो । गण्डकी प्रदेशका बलर बिपिन खत्री, कृष्ण पौडेल, अमृत गुरुङ र कमल परियारले दुई–दुई विकेट हात पारे । सन्दीप पराजुली र रोशन गौतमले पनि एक–एक विकेट लिए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १४:२५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।