काठमाडौं- देशभरका सिनेमा हल आज बन्द भएका छन्। सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार आज देशभरका सिनेमा हल बन्द भएका हुन्।
संघले मूल्यअभिवृद्धिबाहेकका ‘अव्यावहारिक’ कर खारेजीको माग गर्दै सांकेतिक विरोधस्वरूप एक दिन हल बन्द गर्ने निर्णय गरेको हो।
सरकारको अव्यावहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क)को कारण चलचित्र व्यवसायी धराशायी हुने अवस्थामा पुगेको भन्दै आज सञ्चालकहरूले हल बन्द गरेका हुन्। अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रूपमा विरोधस्वरूप आज एक दिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गरिने भएका छन्।
३३ प्रतिशतभन्दा धेरै कर लगाइएको भन्दै संघले सरकारको दोहोरो कर प्रणालीले हल बन्द हुने अवस्थामा पुगेको बताउँदै आएको छ।
क्यूएफएक्स सिनेमाका अध्यक्ष एवं सञ्चालक भास्कर ढुंगानाले पनि आज देशभरका सिनेमा हल बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय कार्यान्वयन गरिने बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हल बन्द गर्ने संघको निर्णयप्रति क्यूएफएक्सको समर्थन रहेको जनाएका हुन्।
‘सरकारको अव्यावहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क)को कारण चलचित्र व्यवसायी धराशायी हुने अवस्थामा पुगेको हुँदा अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रूपमा विरोधस्वरूप २०८० माघ २२ गते एक दिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएको हुँदा उक्त दिन चलचित्र घर बन्द रहने सम्पूर्ण दर्शकवृन्दमा जानकारी गराउन चाहन्छौँ,’ ढुंगानाले फेसबुकमा लेखेका छन्, ‘साथै, दर्शकवृन्दमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। र, सबैबाट सहयोगको आशा समेत गर्दछौँ। धन्यवाद।’





















प्रतिक्रिया