Logo

खेलकुद

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य



काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाउँदै २२४ रनको योगफल खडा गरेको छ ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ६२ रन बनाए । यस्तै आरिफ शेखले ३८ रनको योगदान गरे ।

पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेपछि ओपनर आशिफ शेख २४ बलमा ८ रन मात्र बनाएर १०औ ओभरको पहिलो बलमा उदय भगवानको बलमा थर्ड-म्यानमा क्याच आउट भए । कप्तान रोहित पौडेल पनि १७ बलमा ८ रन मात्र बनाएर १५औ ओभरमा इश्वरजोत सोहिको बलमा आउट भए ।

कुशल भुर्तेल आउट हुने तेस्रो ब्याटर थिए । उनी १९औ ओभरमा क्यानाडाका कप्तान साद बिन जफरको बलमा स्टम्प भएका थिए । भिम शार्की पनि सादकै बलमा १७ रन बनाएर २३औ ओभरमा पेभेलियन फर्किए ।

कुशल मल्लले मध्यम सुरुवात गरेपश्चात ३२ बलमा २० रन बनाएर हर्ष ठाकेरको बलमा लङ्ग-अनमा क्याच आउट हुन पुगे । आरिफ शेखले केही बेर इनिङ सम्हाल्दै ५० बलमा ४ चौका सहित ३८ रन बनाएर भगवानकै बलमा बोल्ड हुन पुगे । त्यसपछि आउट भएका र धेरै समय पछि राष्ट्रिय टोलीमा फर्किएका पवन सर्राफले १५ रन मात्र बनाउन सके ।

सोमपाल कामी २३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन बनाएर ४९औ ओभरमा ठुलो शट प्रहार गर्ने क्रममा लङ-अनमा क्याच आउट भए । आज डेब्यु गरिरहेका रिजन ढकालले ४ रन बनाए । ललित नारायण राजबंशी १ रन बनाएर इनिङको अन्तिम बलमा रनआउट भए । डेब्यु गरिरहेका अर्का खेलाडी सुर्य तामाङ १० रनमा नटआउट रहे ।

क्यानाडाका लागि उदय भगवानले ८ ओभरमा १ मेडनसहित ४० रन खर्चेर सर्वाधिम ३ विकेट लिए । कप्तान साद बिन जफरले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए ।

यस्तै शाहिद अहमदजै, हर्ष ठाकेर र इश्वरजोत सोहीले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १३:०९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।