काठमाडौं- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा आइतबार नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ। प्रतियोगिताकाको दोस्रो खेलमा नेपालले भुटानको सामना गर्नेछ। उक्त प्रतियोगिता शनिबारदेखि मलेसियामा सुरु भएको हो।
प्रतियोगिताको पहिलो दिन शनिबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो। टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १४.१ ओभरमै केवल दुई विकेट गुमाएर ९५ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो। नेपालको जितमा कप्तान इन्दु बर्मा र सीता रानामगरले उत्कृष्ट साझेदारी गरेका थिए। इन्दुले ४० रन र सीताले अविजित ३६ रन बनाएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हङ्कङका लागि कप्तान केरी चानले २१ र मारियम बिबीले १९ रन बनाएका थिए। नेपाली टोलीका बलर पूजा महतो र रुबिना क्षेत्रीले दुई–दुई विकेट लिएका थिए। कविता जोशी र सीता रानामगरले पनि एक–एक विकेट हात पारेका थिए।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो। यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ।
एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन्। फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ।
नेपाल, हङ्कङ, भुटान र मालदिभ्स समूह ‘डी’ मा परेका छन्। नेपालले आफ्नो तेस्रो खेल मंगलबार मालदिभ्ससँग खेल्नेछ। हाल अङ्क तालिकामा भुटान पहिलो र नेपाल दोस्रो स्थानमा छन्। दुवै टोलीको दुई–दुई अङ्क छ। भुटानले शनिबार नै भएको खेलमा माल्दिभ्सलाई ९४ रनले हराएको थियो।
पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको मालदिभ्सले भने १८.१ ओभरमै अलआउट हुनुअघि ३० रनमात्र बनाउन सकेको थियो।
प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन्। समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन्। समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन्।
समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिने छ। सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ।
उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा टोलीको घोषणा गरेको छ। नेपाली टोलीमा विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डली भट्ट र अस्मिना कर्माचार्य रहेका छन्।





















प्रतिक्रिया