काठमाडौं । नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा महतोको कीर्तिमानी ब्याटिङ्गमा नेपालले एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध विश्व कीर्तिमानी जित हात पारेको छ ।
मलेसियाको बाँगीमा जितका लागि २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमै अल आउट भएपछि नेपालले २१४ रनको कीर्तिमानी जित हात पारेको हो ।
यो जितसँगै नेपाल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । समूह डी बाट नेपाल अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । क्वाटरफाइनलमा नेपालले समूह ए को उपविजेता कुवेतसँग खेल्नेछ ।
माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ६ जना शून्य रनमा आउट भए । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुविना क्षेत्रीले ३–३ विकेट लिए ।
यसअघि नेपालले रुविना क्षेत्रीले शतक बनाएपछि नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा कीर्तिमानी २ सय २७ रन बनाएको थियो । नेपालले अन्तर्राष्ट्रिय महिला टी-२० क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो । नेपालले यसअघि सन् २०२१ को नोभेम्बर १८ तारिखमा खेलिएको कतारविरुद्धको खेलमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।
नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाइन् । केवल ६१ रनमा चौथो विकेट गुमाएको नेपालका लागि यी दुई ब्याटरले महत्त्वपूर्ण पाली खेले । रुविना र पूजाले अविजित एक सय ६६ रनको साझेदारी गरे । महिला टी-२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी पनि हो ।
चौथो नम्बरमा क्रिज समाल्न आएकी रुविनाले अविजित एक सय १८ रन बनाइन् । उनी टी-२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् ।
रुविना जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेकी छन् । यसअघि ओमानविरुद्धको खेलमा यूएईकी एसा ओजाले अविजित एक सय १४ रन बनाएकी थिइन् ।




















प्रतिक्रिया