Logo

प्रमुख समाचार

तपाईंको सन्तान जन्माउन उपयुक्त उमेर पुग्यो कि?



विवाह, परिवार र नाता सम्बन्ध मानव जीवनका लागि अपरिहार्य तत्त्व हुन्। जीवनको कुनै मोडमा पुगेर मानिसले विवाह गर्नु नै पर्ने हुन्छ। केही अपवाद बाहेक अधिकांश मानिस वैवाहिक जीवनमा बाँधिने गर्छन्। उनीहरूमा विवाहको उपयुक्त उमेर र सन्तान प्राप्तिको उपयुक्त उमेरका बारेमा पनि दुबिधा पाइन्छ।

विवाह गर्ने उपयुक्त उमेर निर्धारण गर्नु जटिल र व्यक्तिपरक विषय हो। यो विषय व्यक्ति अनुसार फरक हुन्छ। हुन त विवाहका लागि कानुनी र सामाजिक मापदण्ड छन्। तर, कतिपय अवस्थामा मानिसको स्वभाव र प्राथमिकताले पनि यसमा काम गर्छ।

जीवन सँगै बिताउने विषय भएकाले विवाहअघि धेरै कुरामा ध्यान भने दिनुपर्छ। विवाहअघि भावनात्मक परिपक्वताको ख्याल गर्नुपर्छ। विवाहलाई भावनात्मकरुपमा बलियो बनाउनुपर्छ। कम उमेरमा विवाह गर्दा मानिस अपरिपक्व हुन्छ। त्यस्ता व्यक्ति भावनात्मकरूपमा जिम्मेवार बनिसकेका हुँदैनन्। उनीहरूले एक अर्कालाई सही रूपमा बुझ्न पनि सकेका हुँदैनन्। त्यसैले परिपक्व उमेरमा विवाह गर्नु राम्रो मानिन्छ।

केही मानिस भने समझदार हुन्छन्। उनीहरूले आफ्नो लक्ष्य र शिक्षालाई प्राथमिकतामा राखेर परिपक्व उमेरमा विवाह गरेका हुन्छन्। त्यस्ता व्यक्तिहरूको वैवाहिक जीवन पनि सुखमय बन्ने गर्छ। नेपालको मुलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० वर्ष तोकिएको छ।

विवाह त गर्नुभयो तर सन्तानको योजना कहिले गर्ने सोचमा हुनुहुन्छ। त्यो हो भने यस बारे पनि जान्न आवश्यक छ। त्यसैले कम उमेर र बढी उमेरमा सन्तान जन्माउनेहरूको बारे जानौं। अमेरिकामा सन् १९७२ र सन् २०१५ बीचमा बुबाको औसत उमेर ३.५ वर्षले बढेर ३.९ वर्ष पुगेको छ।

सन् २०१५ मा मेडिकल जर्नल ‘ह्युमन रिप्रोडक्शन’मा प्रकाशित एक अध्ययनअनुसार आफ्ना सन्तान जन्मिँदा ९ प्रतिशत बुबा कम्तीमा ४० वर्ष पुगेका थिए। त्यसै गरी विश्व स्वास्थ्य संगठको रिपोर्ट अनुसार २०१९ मा कम र मध्यम आय भएका देशहरूमा १५ देखि १९ वर्ष उमेरका किशोरहरूले प्रत्येक वर्ष अनुमानित २१ मिलियन गर्भधारण गरेका थिए। जसमध्ये लगभग ५० प्रतिशत अप्रत्याशित थिए। जसको परिणामस्वरूप अनुमानित १२ मिलियन जन्म भएको थियो।

स्वांस्थ्यका दृष्टिबाट विवाह गर्ने उपयुक्त उमेर र विवाह ढिलो या चाँडै गर्नुका असरबारे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका त्रिपाठीले प्रस्ट पारेकी छन्।

यस्तो छ डा. त्रिपाठीको धारणा

विवाह गरेपछि सन्तानको योजना बनाउनु एक सामाजिक नियम नै छ। कोही बिहे गर्न साथ सन्तान बनाउने योजना बनाउँछन्। कोही बिहे भएको धेरै समयपछि सन्तानको योजना बनाउने गर्छन्। प्राय: विवाहपछि सन्तानको योजना नबनाउनेहरू कमै भेटिन्छन् होला। त्यसैले सन्तान पाउने उमेरलाई मध्यनजर गर्दै ठिक उमेरमा विवाह गर्दा नै राम्रो हुन्छ। किनभने जति उमेर बढ्दै गयो, त्यति नै गर्भवती हुँदा आउन सक्ने खतरा बढ्छ।

महिलाले जन्मँदा नै पाठेघरमा निश्चित अण्ड लिएर आएका हुन्छन्। ती अण्डहरू उमेर अनुसार बिस्तारै सकिँदै जान्छन्। एक स्वस्थ उमेरमा आमा नबनेपछि सन्तान नहुने र बाँझोपनको समस्या पनि देखिने सम्भावना हुन्छ। महिलाको सन्दर्भमा गर्भवती हुनसक्ने क्षमतामा उमेर र महिनावारीको ठूलो भूमिका हुन्छ। महिलाहरू महिनावारी सुरु भएपछि नरोकिँदासम्म मात्र गर्भवती हुन सक्दछन्।
जुन करिब १५–५० वर्षसम्मको उमेरलाई मानिन्छ। सामान्य तया २५ देखि ३० वर्षसम्मको उमेर बच्चा जन्माउन सबै भन्दा उपयुक्त मानिन्छ। त्यसपछि क्रमशः उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ। स्वास्थ्य अवस्थाका आधारमा ३५ वर्ष उमेरसम्म गर्भवती हुनु प्रजनन स्वास्थ्यको हिसाबले सुरक्षित नै मानिन्छ। ३५ वर्ष नाघेपछि पहिलो गर्भ भएमा सुत्केरी हुँदा गाह्रो हुने गर्छ। साथै जति जति महिलाको उमेर ढल्किँदै जान्छ, त्यति नै गर्भ रहँदा वा सन्तान जन्माउँदा आउन सक्ने समस्या र जटिलताको सम्भावना धेरै हुन्छ।

३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि डाउन सिनड्रोमजस्ता जन्मजात विकार आउने सम्भावना हुन्छ। ३५ वर्षपछि गर्भधारण गर्न नै गाह्रो हुने, सुत्केरी हुने वेला लामो समयसम्म पीडा हुने, बच्चा जन्माउन नसक्ने जस्ता समस्या देखिन सक्छन्। त्यस्तै, उमेर बढ्दै जाँदा स्वाभाविक रूपमै महिलामा विभिन्न रोग देखा पर्ने सम्भावना हुन्छ। जसले बच्चामा पनि प्रत्यक्ष असर पार्छ।

कम उमेरमा बच्चा जन्माउँदा के हुन्छ?

किशोरावस्थामा युवतीको प्रजनन अङ्गको पूर्ण विकास भइसकेको हुँदैन। २० वर्षभन्दा कम उमेरमा गर्भ रहेमा बच्चा र आमा दुवैलाई हानी हुनुको साथै बच्चा तथा आमाको ज्यानसमेत जान सक्दछ। गर्भपतन, रगतको कमी, कुपोषण, सुनिने, कम्पन हुने आदि रोग लाग्ने सम्भावना हुनसक्छ। उमेर नपुगेका महिलाको बच्चा जन्मने बाटो साँघुरो हुने भएकाले बच्चा अड्केर बच्चा पाउन गाह्रो हुनसक्छ।

सानो उमेरमा जन्माएका बच्चाहरू कम तालका हुन सक्छन्। बच्चा पाएपछि रगत ज्यादा बग्ने, ज्वरो आउने र स्तनपानमा कमी आउन सक्छ। यस बाहक उमेर नपुग्दा बिहे गरेमा हालको शिक्षा, दीक्षा पूरा नहुनुका साथै प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको पनि कमी हुन्छ। जसले गर्दा महिलाको मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्छ।

बच्चा जन्माउने उपयुक्त उमेर कुन?

महिलामा जब पहिलो महिनावारी हुन्छ त्यसबेलादेखि नै गर्भधारण हुनसक्छ। त्यसैले महिनावारी सुरु भएदेखि नै महिला गर्भवती हन सक्ने सम्भावना हुँदै जान्छ। तर, केटीको उमेर २० वर्ष पुगिसकेपछि मात्रै गर्भ रहनु स्वास्थ्यका हिसाबले ठिक हुन्छ।

पुरुषमा कति उमेरमा हुन्छ प्रजनन क्षमता?

केटाहरूमा वीर्य र शुक्रकीट उत्पादन उनीहरूको किशोरावस्थामा १० वर्षदेखि सुरु हुन्छ र परिपक्व वीर्य र शुक्रकीट उत्पादन हुन केही समय लाग्छ । तसर्थ केटाहरूमा लगभग १४ वर्षदेखि नै गर्भवती बनाउन सक्ने क्षमता हुन्छ ।

पुरुषका लागि बच्चा जन्माउने उमेर कति हुनु पर्छ?

बुबा हुन लागेका लागि व्यक्तिको उमेर पनि उत्तिकै महत्त्वपूर्ण छ। स्ट्यान्फर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले बुबा वृद्ध भएकै कारण सन्तानहरू कम तौलका हुने र उनीहरूमा सीजर (मुर्छा पर्ने वा छोप्ने रोग) हुन सक्ने जोखिम हुन्छन्। धेरै उमेर भएपछि बच्चा जन्माउँदा सन्तानमा बाल्यावस्थामा हुने क्यान्सरको दर उच्च हुने एवम् जन्मजात मुटुसम्बन्धी समस्याहरू देखिने पनि पाइएको छ।

कैयौँ अध्ययनहरूले बढी उमेरका पुरुषबाट गर्भधारण हुँदा गर्भपतनको जोखिम उच्च हुने देखाएको बताएका छन्। ४० वर्षदेखि शुक्रकीटको गुणस्तर कम भइसकेको हुन्छ। बढी उमेरमा पुरुषको शुक्राणु बन्ने संख्यामा पनि कमी आउँछ।

त्यसैले पुरुषका लागि ४० भन्दा पहिले नै बच्चा जन्माउन उपयुक्त मानिन्छ। ४० पछि पनि बच्चा जन्माउन सक्छन्। तर, उमेरसँगै विभिन्न दीर्घकालीन रोगहरूले छुन सक्ने सम्भावना प्रबल हुने हुँदा बच्चा जन्माउने उमेरलाई पुरुषले ध्यान दिन आवश्यक छ। ४० पछि बच्चा जन्माउने क्षमता कम हुनुसँगमात्र नभई स्वाभाविक गर्भधारणपछि गर्भ खेर जाने उच्च जोखिमसँग पनि सम्बन्धित भएको अध्ययनहरूले बताएका छन्।

(स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका त्रिपाठीसँग अनलाइनपानाका लागि भूमिका के. बिष्टले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १३:०७   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।