Logo

खेलकुद

नेदरल्यान्ड्समाथि नामिबियाको रोमाञ्चक जित



काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको शुक्रबारको खेलमा नामिबियाले नेदरल्यान्ड्समाथि २४ रनको रोमाञ्चक जित हासिल गरेको छ । जारी प्रतियोगितामा नामिबियाको यो तेस्रो जित हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुनुअघि २०३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने ४३.५ ओभरमा अलआउट हुनुअघि १७९ रनमात्र बनाउन सक्यो ।

निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल ४५–४५ ओभरमा खेलाइएको थियो ।

डच टोलीका लागि नोआ क्रोस ४६ रनमा नटआउट रहेपनि तल्लोक्रममा साथ नपाउँदा जितसम्म पुर्याउन सकेनन् । उनले ५६ बलमा ३ चौका प्रहार गरेका थिए । ओपनर म्याक्स ओ डाउडले ४१ रन जोडेका थिए ।

यस जितसँगै नामिबिया ४ खेलमा ६ अंक जोड्दै लिग-२ को शीर्षस्थानमा उक्लेको छ । नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा २-२ अंक छ । अब अन्तिम खेलमा आइतबार नेपाल र नेदरल्यान्ड्स खेल्नेछन् ।

ओपनर माइकल लेभिट इनिङको चौथो बलमै रुबेन ट्रम्प्लम्यानको एलबीडब्लु धरापमा परे । छैटौं ओभरमा साइब्रान्ड इंगलब्रेक्ट आउट हुँदा टोलीले ३७ रन जोडिसकेको थियो । उनी १३ बलमा १० रन जोड्दै स्टम्पिङ आउट भए ।

२०औं ओभरमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले बास डे लिडलाई बोल्ड गरे । उनले ४४ बलमा २४ रन बनाए । त्यसको २ ओभरपछि सेट ब्याटर म्याक्स ओ डाउडलाई जान फ्रिलिंकले आफ्नै बलमा क्याच आउट गरे । म्याक्सले ४ चौका र १ छक्कासहित ४१ रन जोडे ।

कप्तान स्कट एडवार्ड्स १४ बलको सामना गर्दै ४ रन जोडेर स्लिपमा क्याच आउट भए । तेजा निदामानुरु २७ बलमा १४ रन जोड्दै पेभेलियन फर्कंदा नेदरल्यान्ड्स ११४-६ को स्थितिमा पुग्यो ।

सातौं विकेटका लागि नोआ क्रोस र शारिज अहमदले ५४ रनको साझेदारी गर्दै खेलमा फर्काए । तर २ ओभरको अन्तरमा शारिज र रोलफ भान डर मर्व आउट हुँदा खेल पुन: रोमान्चक मोडमा पुग्यो । शारिज २९ बलमा १९ रन जोडेर आउट भए । रोलफ ४३ औं ओभरमा मात्र ३ रनको अवस्थामा बोल्ड भए ।

४४ औं ओभरको दोस्रो बलमा आर्यन दत्त ठूलो सट खेल्ने धुनमा क्याच आउट भए ।

नामिबियाका लागि कप्तान एरास्मस र जान फ्रिलिंकले ३-३ विकेट लिँदा बर्नार्ड स्कोल्जले २ विकेट हात पारे । रुबेन ट्रम्प्लम्यान र निकोल लफ्टि इटनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नामिबिया ४१.३ ओभरमा २०३ रनमा समेटिएको थियो । नामिबियाका लागि ज्यान निकोल लोफ़्टि-इटनले सर्वाधिक ४९ रन बनाए । यस्तै डेब्यु गरिरहेका मलान क्रुगरले ३९ रन जोडे ।

नामिबियाको सुरुवात भने राम्रो रहेको थिएन । ओपनर निकोलास दाभिन शुन्यमा पहिलो ओभरमा नै पेभेलियन फर्किएका थिए । उनी भिभियान किङमाको बलमा क्याच आउट भए । तेस्रो नम्बरमा आएका माइकल भ्यान लिङ्गेन पनि १० रन मात्र बनाएर किङमाकै बलमा बलरद्वारा नै क्याच आउट भए ।

कप्तान जेर्हार्ड इरासमस पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी २२ बलमा १२ रन बनाएर रुलफ भ्यान डर मर्वाको बलमा नोआह क्रोएसद्वारा क्याच आउट भए । त्यसपछि आउट हुने आजको खेलमा डेब्यु गरिरहेका ओपनर मलान क्रुगर थिए । उनलाई ४८ बलमा ५ चौकासहित ३९ रनमा आर्यन दत्तले बोल्ड गरेका थिए ।

७६ रनमा कृगर आउट भएपछि क्रिजमा आएका जेजे स्मिट पनि पहिलो बलमा नै शुन्यमा दत्तको शिकार बने । छैठौ विकेटका लागि ज्यान फ्राईलिंक र ज्यान निकोल लोफ़्टि-इटनले मिलेर ७८ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । साझेदारी फ्राईलिंक ५७ बलमा ३४ रन बनाएर शारिज अहमदको बलमा आउट भएसँगै टुटेको थियो ।

सोहि ओभरमा लोफ़्टि-इटन ४९ रनमा रनआउट हुन पुगे । ३० यार्ड सर्कल भित्र नै रहेको बलमा रन लिन जाँदा उनी रन आउट भएका थिए । नवौ विकेटका रुपमा बर्नार्ड स्कोल्ज शुन्यमा भ्यान डर मर्वाको बलमा क्याच आउट भए ।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले सर्वाधिक ३ विकेट लिए । यस्तै आर्यन दत्त र रुलफ़ भ्यान डर मर्वाले समान २-२ विकेट लिँदा शारिज अहमद र बास डे लिडाले १-१ विकेट लिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १७:२४   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।