Logo

खेलकुद

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य



काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि १७२ रन बनायाे । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक जोड्दै महत्त्वपूर्ण इनिङ खेले ।

पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ४२ रनको साझेदारी गरेका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा सोही साझेदारी नेपालको इनिङको सर्वाधिक रह्यो । कुशलले सातौं विकेटको रुपमा आउट हुनुअघि ९३ बलमा ८ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिए ।

नवौं ओभरको तेस्रो बलमा आसिफ १७ रन जोड्दै आउट भएका थिए । भिभिएन किंग्माको बलमा उनी मिड विकेटमा बास डे लिडको हातबाट समातिए । १ औं ओभरमा किंग्माले नै अनिल शाहलाई बोल्ड गरे । ११ बलमा १ छक्का प्रहार गरेका उनी ७ रन जोड्दै प्लेड अन भए ।

१३औं ओभरको अन्तिम बलमा आर्यन दत्तले कुशल मललाई एलबीडब्लु धरापमा पारे । उनले ९ बलमा २ रन जोडे । त्यसबेला नेपाल ५४-३ को स्थितिमा थियो ।

२५औं ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेल क्याच आउट भए । उनले ४० बलमा १६ रन बनाए । २८औं ओभरमा दीपेन्द्र सिंह ऐरी नन स्ट्राइक एण्डमा रहँदा कुशल भुर्तेलको सट बास डे लिडलाई छुँदै स्टम्पमा लाग्दा दुर्भाग्यपूर्ण रनआउट भए । त्यसको २ ओभरमै भीम आउट हुँदा नेपाल ९४-६ को स्थितिमा पुग्यो । भीम खाता नखोली डे लिडको बलमा बोल्ड भए ।

३७औं ओभरमा कुशल भुर्तेल आउट भए । कुशल बायाँ हाते स्पिनर रोलफ भान डर मर्वको बलमा क्याच फिर्ता दिँदै पेभेलियन फर्किए । ४३औं ओभरमा गुलशन झा ५ रन जोड्दै आर्यन दत्तको बलमा क्याच आउट भए ।

आरिफ शेखले ५० बलमा २२ रन जोडे । उनी किंग्माको बलमा ४९औं ओभरमा क्याच आउट भए । करण केसी २७ बलमा १ चौका र २ छक्कासहित २६ रन जोड्दै अन्तिम विकेटको रुपमा आउट भए ।

नेदरल्यान्ड्सका लागि स्पिनर आर्यन दत्तले ३ तथा रोलफ भान डर मर्वले १ विकेट लिए । पेस बलर भिभिएन किंग्माले ३ र बास डे लिडले २ विकेट हात पारे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १३:११   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।