काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।
घरेलु मैदानमै भएको लिग-२ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो ।
नेपालले जितका लागि प्रस्तुत गरेको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।
नेदरल्यान्ड्सका लागि सिरिजको पहिलो खेल खेलिरहेका विक्रमजित सिंहले व्यक्तिगत अर्धशतकसँगै साइब्रान्ड एंगलब्रेक्टसँग शतकीय साझेदारीका साथ जितको आधार तय गरे । गत संस्करणमा लिग-२ को १२ घरेलु खेलमध्य १० खेल जितेको नेपालले यसपटक भने घरेलु रेकर्डमा तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिसकेको छ ।
नेदरल्यान्ड्सका लागि विक्रमजितले नटआउट ५८ रन जोडे । उनले ९२ बलमा ७ चौका प्रहार गरे । एंगलब्रेक्टले ७५ बलमा ३ चौकासहित नटआउट ४६ रन बनाए । यी दुईले तेस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरे ।
त्यसअघि पहिलो विकेटका लागि माइकल लेभिट र म्याक्स ओ डाउडले ६१ रनको आक्रामक साझेदारी गरेका थिए । लेभिट ३४ बलमा ३९ रन जोड्दै आठौँ ओभरमा दीपेन्द्र सिंह ऐरीबाट बोल्ड भए । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
१२औं ओभरमा म्याक्स ललित राजवंशीको बलमा कट बिहाइन्ड भए । उले २६ बलमा २ चौका र २ छक्कासहित २८ रन जोडे । तेस्रो विकेटका लागि विक्रमजित र एंगलब्रेक्टले बलियो साझेदार गर्दै जित पक्का गरे ।
पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि १७२ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक जोड्दै महत्त्वपूर्ण इनिङ खेले । तल्लोक्रममा करण केसीले आक्रामक इनिङ र आरिफ शेखले संयमित ब्याटिङ गर्दा नेपाल सामान्य स्कोरसम्म पुगेको थियो ।
पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ४२ रनको साझेदारी गरेका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमाउँदा सोही साझेदारी नेपालको इनिङको सर्वाधिक रह्यो । कुशलले सातौं विकेटको रुपमा आउट हुनुअघि ९३ बलमा ८ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिए ।
नवौं ओभरको तेस्रो बलमा आसिफ १७ रन जोड्दै आउट भएका थिए । भिभिएन किंग्माको बलमा उनी मिड विकेटमा बास डे लिडको हातबाट समातिए । ११ औं ओभरमा किंग्माले नै अनिल शाहलाई बोल्ड गरे । ११ बलमा १ छक्का प्रहार गरेका उनी ७ रन जोड्दै प्लेड अन भए ।
१३औं ओभरको अन्तिम बलमा आर्यन दत्तले कुशल मललाई एलबीडब्लु धरापमा पारे । उनले ९ बलमा २ रन जोडे । त्यसबेला नेपाल ५४-३ को स्थितिमा थियो ।
२५औं ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेल क्याच आउट भए । उनले ४० बलमा १६ रन बनाए । २८ औं ओभरमा दीपेन्द्र सिंह ऐरी नन स्ट्राइक एण्डमा रहँदा कुशल भुर्तेलको सट बास डे लिडलाई छुँदै स्टम्पमा लाग्दा दुर्भाग्यपूर्ण रनआउट भए । त्यसको २ ओभरमै भीम आउट हुँदा नेपाल ९४-६ को स्थितिमा पुग्यो । भीम खाता नखोली डे लिडको बलमा बोल्ड भए ।
३७औं ओभरमा कुशल भुर्तेल आउट भए । कुशल बायाँ हाते स्पिनर रोलफ भान डर मर्वको बलमा क्याच फिर्ता दिँदै पेभेलियन फर्किए । ४३ औं ओभरमा गुलशन झा ५ रन जोड्दै आर्यन दत्तको बलमा क्याच आउट भए ।
आरिफ शेखले ५० बलमा २२ रन जोडे । उनी किंग्माको बलमा ४९ औं ओभरमा क्याच आउट भए । करण केसी २७ बलमा १ चौका र २ छक्कासहित २६ रन जोड्दै अन्तिम विकेटको रुपमा आउट भए । उनी लामो सट खेल्ने धुनमा लङ अनमा समातिए ।
नेदरल्यान्ड्सका लागि स्पिनर आर्यन दत्तले ३ तथा रोलफ भान डर मर्वले १ विकेट लिए । पेस बलर भिभिएन किंग्माले ३ र बास डे लिडले २ विकेट हात पारे ।
प्रतिक्रिया