Logo

प्रमुख समाचार

किन लाग्छ झाडापखाला ?



विश्वव्यापीरूपमा झाडापखाला अधिकांश मानिसलाई हुने स्वास्थ्य समस्या हो। वर्षेनी पखालाको समस्या १.७ बिलियन रहको विश्व स्वास्थ्य संगठनको रिपोर्टले देखाएको छ। कुपोषण र बाल मृत्युको प्रमुख कारण झाडापखाला पनि रहेको पाइन्छ। झाडापखालाको रोकथाम र उपचार दुवै छ। तर पनि प्रत्येक वर्ष झाडापखालाले विश्वमा ५ वर्ष मुनीका ४४ लाख ३ हजार ८३२ बालबालिका र ५ देखि ९ वर्ष उमेरका थप ५० हजार ८५१ बालबालिकाको ज्यान लिने गरेको रिपोटले देखाएको छ।

झाडापखाला जुनसुकै उमेरका मानिसलाई पनि स्वास्थ्य समस्या हो। दिनमा ३ वा ३ पटक भन्दा बढी कसैलाई पातलो दिसा लाग्यो भने त्यो व्यक्तिलाई पखाला लागेको बुझिन्छ। व्यक्तिलाई खानपानको कारणले गर्दा झाडापखाला लाग्नेगर्छ।

आन्द्रालाई असर पार्ने खानेकुरा वा पचाउन नसक्ने तत्त्वहरू आन्द्रामा जाँदा पखाला लाग्न सक्छ। पखाला लाग्नुको धेरै कारणहरू हुन्छन्। जस्तै ब्याक्टेरिया, भाइरस वा ढुसीले संक्रमण गरेको खाने कुरा खायौं भने पखाला लाग्न सक्छ। धेरै जसोमा भाइरसको कारणले पखाला लागेको पाइन्छ। उदाहरणका लागि जसरी हामीलाई सिजनल भाइरसको कारणले रुघाखोकी लाग्छ त्यसरी नै आन्द्रामा भाइरसले संक्रमण गर्‍यो भने झाडापखाला लाग्नेगर्छ।

झाडा पखालाका लक्षणहरू के के हुन् ?

१. २४ घण्टामा तीनभन्दा बढी पटक पातलो दिसा हुनु।
२. पिसाब कम हुँदै आउनु।
३. ब्लड प्रेसर घट्नु।
४. छाला सुख्खा हुनु, जिब्रो सुख्खा हुनु।
५. आँखा सुक्खा हुनु।
६. बान्ता, रिगंटा लाग्नु, बेहोस हुनु।

झाडापखाला कसरी?

पखाला सामान्यतया आन्द्रा मार्गमा संक्रमणको लक्षण हो। जुन विभिन्न ब्याक्टेरिया, भाइरल र परजीवी जीवहरूको कारण हुनसक्छ। दूषित खाना, प्रदूषित पानी र सरसफाइको कमीले झाडापखाला लाग्ने हुन्छ। कुपोषित वा कमजोर प्रतिरक्षा क्षमता भएका बालबालिका र एचआईभी सङ्क्रमित व्यक्तिहरूमा पखालाको सबैभन्दा बढी जोखिममा हुन्छ।

बिग्रिएको खानेकुरा खायौं भने झाडापखाला लाग्नसक्छ। बासी खानेकुराको सेवनले पनि पखालाको जोखिम बढाउँछ। आजभोलि भातलाई भण्डार गरी राखिन्छ। भोक लाग्दा त्यसलाई तताएर वा फ्राई गरेर खाने गरिन्छ। त्यस्तो खानेकुरामा विभिन्न किसिमका ब्याक्टेरियाका टक्सिनहरू पाइन्छ र त्यसले हामीलाई झाडापखाला लाग्न सक्छ। यदि हामीले खानेकुरालाई उपयुक्त तापक्रममा सञ्चित गरी राख्न सक्यौं भनेमात्र केही घण्टा या केही दिन खानालाई पुनः खान मिल्छ। तर, बढी तापक्रममा बाहिर सञ्चित गरी राखेको खाना वा फ्रिजमामा धेरै दिन राखिएको खानामा हानिकारक तत्त्व बढी पाइन्छ। त्यस्ता खानेकुरा खायौं भने हामीलाई झाडा पखाला लाग्नसक्छ।

त्यसै गरी बजारबाट ल्याइएका तरकारी, सागपात तथा फलफूलहरू र घरमै पकाएर राखेका खानेकुराहरू एउटै फ्रिजमा भण्डारण गरी राखेमा खानेकुरा छिट्टै बिग्रिने र संक्रमित हुने सम्भावना हुन्छ। त्यही भएर हामीले छुट्टाछुट्टै फ्रिजमा भण्डारण गर्नुपर्छ। हामीले बजारबाट किनेर ल्याएको तरकारी, फलफूलहरू र पकाएको खानासँगै एउटै फ्रिजमा राख्ने गर्छौँ। प्रायको घरमा पकाएको खना र बाहिरबाट ल्याएका विषादीयुक्त तथा फोहोर सागपात एउटै फ्रिजमा भण्डारण गरेर राख्ने गर्छौँ। यसले हाम्रो खानलाई खराब गरिरहेको हुन्छ। जसकारण हामीलाई झालाडापखाला लाग्ने गर्दछ।

घरमा पकाएका खानेकुराहरू हामी फ्रिजमा राख्दा प्राय: नछोपी राखिरहेका हुन्छौँ। यसरी घरभित्र पकाएका खाना नछोपेर राख्दा हाम्रो खाना बिग्रिसकेको हुन्छ। तर, हामी त्यो कुरामा त्यति ध्यान दिइरहेका हुँदैनौं। गर्मी याममा बर्खाको कारण हाम्रो पिउने पानीको मुहानहरू दूषित हुने गर्छन्। त्यही पानी हामीले खायौँ भने हामीले झाडापखाला लाग्नेगर्छ। त्यसैले पानीलाई सधैँ उमालेर सेलाएरमात्रै प्रयोग गर्नुपर्छ।

झाडा पखालाबाट कसरी बच्ने?

१. सकेसम्म एउटै फ्रिजमा सबै खालका खानेकुराहरू राख्नु हुँदैन। राख्ने हो भने खानाहरू छोपेर राख्नपर्छ।
२. गर्मीयाममा खानेपानी उमालेपछि सेलाएर खानुपर्छ। यसरी पानीबाट हुने संक्रमणबाट बच्न सकिन्छ।
४. पकाइसकेको खानेकुराहरू लामो समयसम्म सञ्चित नगर्ने। ताजा खानेकुराहरू खानुपर्छ।

(भूमिका के. बिष्टले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ०६:५९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।