काठमाडौं । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेलमा गुजरातविरुद्ध सहज जित दर्ता गरेको छ । नेपालले गुजरातलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात समेत गरेको हो ।
जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । रोहित पौडेल २६ बलमा ३ चौकासहित ३३ रनमा नट आउट रहे ।
तेस्रो विकेटका लागि रोहित र अनिलले ६५ रनको साझेदारी गरे । ओपनरद्वय कुशल भुर्तेल १७ र आशिफ शेख १६ रनमा आउट भए । गुजरातका तेजस पटेल र हेमाङ पटेलले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनाएको हो । गुजरातका रुद्र मयुर पटेलले सर्वाधिक २३ रन बनाए। २२ बल खेलेका उनले ४ चौका प्रहार गरे ।
हेमाङ पटेल २०, सरल प्रजापति १७, अभिषेक देसाईं ११ र स्मित पटेल १० रनमा आउट भए । गुजरातका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।
नेपालका गुल्शनकुमार झाले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए । करण केसीले ३ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए ।




















प्रतिक्रिया