Logo

प्रमुख समाचार

चुरोटले फोक्सो, परिवारको सपना र आसालाई जलाउँदै



चुरोटले सेवनकर्तालाई मात्र नभएर उसको परिवारलाई पनि प्रत्येक्ष वा अप्रत्येक्ष असर गरिरहेको हुन्छ। यसले स्वास्थ्यलाईमात्र नभएर सामाजिक र आर्थिक क्षेत्रलाई पनि प्रभावित गरिरहेको हुन्छ। संसारमा सबैभन्दा धेरै मृत्युदर चुरोट सेवनपछि हुने स्वास्थ्य समस्या नै रहेको छ। यसलाई हामी रोक्न पनि सक्छौं। कुनै व्यक्तिको चुरोट सेवन गर्ने बानीलाई रोक्न लगाएर हामी उसको जीवन बचाउन सक्छौं। चुरोट खाने मानिसको बानीका कारण अरु मानिसलाई पनि असर गरिरहेको हुन्छ।

८० लाख मानिस प्रत्येक वर्ष चुरोटजन्य रोगका कारण विश्वमा ज्यान गुमाउने गरेका छन्। १३ लाख मानिसहरू चुरोटको साइड इफेक्टले ज्यान गुमाउँदै आएका छन्। त्यसैले चुरोट सेवन गरेर आफ्नो र आफ्नो परिवारलाई जोखिममा पार्नु हुँदैन। चुरोटले मुटुमा ठूलो असर गर्छ। यसले मुटुको रक्त नलीलाई खुम्च्याउँछ। त्यसपछि रगतमा क्लोटिङ टेन्डेन्सिव गराउँछ। क्लोटिङ फ्याक्टरहरूले रगत जम्न चाहिने फ्याक्टरको मात्र बढाउँछ।

ब्लकेजको प्रोसेसलाई चुरोट सेवनले स्पिडअप गरिदिन्छ। कुनै व्यक्तिलाई ५० वर्षको उमेरमा नेचुरल्ली ब्लकेज हुने रहेछ भने चुरोट सेवन गर्‍यो भने त्यो प्रक्रिया चाँडो भएर ३० वर्षमा पनि हुनसक्छ। त्यसैले संसारभरमा चुरोटको कारणले मानिसको आयु समष्टिगतरूपमा १० देखि २५ वर्षसम्म घट्न सक्छ। यसको प्रमुख कारण हार्टअट्याक, क्यान्सर र दमको समस्या रहेका छन्। चुरोटको लतमा मानिस नजानेरै फस्ने गरेका हुन्छन्। ११/१२ मा पढ्दै गर्दा विद्यार्थीहरूलाई यसको असरबारे धेरै जानकारी हुँदैन। उनीहरूलाई नराम्रो हो भन्ने थाहा हुन्छ। तर, यसको पूर्ण असरका बारेमा जानकारी हुँदैन।

चुरोटको सेवन नराम्रो हो भन्ने धेरैलाई थाहा हुँदा पनि यो कति नराम्रो हो भन्ने कुरा कमैलाईमात्र थाहा छ। चीनमा एकदम धेरै मानिसहरूले चुरोटको सेवन गर्छन्। संसारमा सबैभन्दा बढी चुरोट सेवन चीनमा हुने गर्छ। त्यसैले चीनमा चुरोटको असरका बारेमा अध्ययन गरिएको थियो। चीनमा गरिएको उक्त अध्ययनले चुरोट सेवन गर्ने व्यक्तिलाई यसको सेवनले हार्टअट्याक गर्ने बारेमा जानकारी नै नभएको देखायो। १३ लाख मानिस वर्षेनी प्यासिभ स्मोकिङले मर्न सक्छन् भन्ने उहाँहरूलाई जानकारी नै रहेनछ।

त्यसैले सही कुराको जानकारी लिएर यसका असरका बारेमा बुझेर चुरोट सेवन गर्नु हुँदैन। संगतले पनि फरक पार्ने गर्छ। त्यसैले चुरोट सेवन गर्नेहरूको संगत गर्नु हुँदैन। बेलाबेला धुमपानविरुद्ध क्याम्पेनहरू गर्नुपर्छ। यसले मानिसलाई धुमपान त्याग्न प्रेरित गर्छ। धुमपानको असर बुझिसकेपछि म अब मेरो जीवन नै वर्वाद गर्ने चिजको सेवन गर्दैन भनेर प्रण गर्नुपर्छ। हामीले स्वत: धुमपान सेवन गर्न छोड्यो भने हाम्रो सफलतादर ५ प्रतिशत हुन्छ। कसैको सहयोगमा वा क्याम्पेनबाट छोड्यौं भने सक्सेसदर २० प्रतिशत हुन्छ।

चुरोट सेवन गरिरहेका मानिसमा पनि १०० जनामा ७५ जनाले चुरोट छोड्न खोजिरहेका हुन्छन्। ५० जनाले त छोड्ने दृढता नै लिन्छन्। त्यस्तो दृढता लिएका मानिसहरूलाई यसविरुद्धको क्याम्पेन, जनचेतनाले छोड्न थप प्रेरित गर्छ। यस्तो हुँदा चुरोट छोड्नेको सक्सेस रेसियो बढ्छ। त्यसैले हामी कसैले पनि चुरोट सेवन गर्नु हुँदैन र कसैले सेवन गरिरहेको भए पनि छोड्न प्रेरित गर्नुपर्छ। यति सुन्दर जीवनलाई चुरोट सेवन गरेर खत्तम पार्नु हुँदैन। चुरोटले फोक्सोसँगै परिवारको सपना र आसालाई पनि जलाइरहेको हुन्छ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १३:०४   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।