काठमाडौं । नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ ।
१७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६.५ ओभरमा ६० रनमा अल आउट भयो । नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९बलमा २ चौकासहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६/६ रनमा आउट भए ।
स्पिनर म्याथ्यु हम्फ्रेजले ४.५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिए । थोमस मेयर्स र फिन ह्यान्डले २/२ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ३८.४ ओभरमा १७४ रनमा अल आउट भएके थियो ।
आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भए ।
नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।




















प्रतिक्रिया