Logo

खेलकुद

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो



काठमाडौं । नेपालले एसीसी प्रिमियर कप-२०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । नेपाललाई ओपनर भुर्तेल र शेखले ५.३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए ।

रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहे । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १/१ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भएको थियो ।

कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।  ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार १५:२६   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।