कोरोना भाइरसको महामारीको बीचमा पनि थारु समुदायका महिलाहरु बिहानैदेखि निराहर ब्रत बसी झाम्टा नाच नाच्दै गाउँदै जितिया पर्व मनाइरहेका छन् । थारु महिला तथा युवतीहरू विहानैदेखि नुहाई धुवाई बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी यो पर्व मनाउने गर्छन यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।
आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपवास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । यसअघि विहान दर खाएपछि महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाइलो गर्छन ।
तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु अगुवा महिलाहरू बताउछन । आज अष्टमीको दिन भएकोले महिलाहरू विहानैदेखि ‘उपवास’ ब्रत बसि झम्टा नाँच नाचेर मनाइरहेका छन् । महिलाहरू आफ्नै सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झामटा नृत्यमा झुमेर रम्छन् रमाईलो गर्छन। बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् ।
त्यसपछि सबै ब्रतालु महिला जम्मा भए र कथा श्रवण गर्ने प्रचलन छ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ ।
पूर्वी चितवनको खैरहनि, रत्ननगर, कालिका, राप्ती नगरपालिका, पश्चिम चितवनको मेघौली र माडीमा जितियाको रौनक छाएको छ । थारुहरुको बाक्लो बसोबास रहेको पूर्वी चितवन र पश्चिम चितवनको माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ ।
पहाडी महिलाहरूले मनाउने तीज जस्तै थारु महिलाहरूको यो पर्वलाई मनाउने गर्छन । जितिया पर्वमा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
चितवनमा करिव ७४ हजार थारु समुदायको बसोबास भएपनि संरक्षणको अभावको कारण थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेकोले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु सक्रिय भैरहेकाछन् ।
प्रतिक्रिया