Logo

मनोरञ्जन

अन्तर्राष्ट्रिय पर्वत समाजद्वारा बेल्जियममा च्यारिटी डिनर र साँस्कृतिक कार्यक्रम सम्पन्न



काठमाडाैं । अन्तरराष्ट्रिय पर्वत समाजले बेल्जियमको लुभेन शहरमा च्यारिटि डिनर तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

समाजले पर्वत जिल्ला अस्पताललाई आर्थिक सहयोग गर्ने उद्देश्यले सोमबार बेल्जियममा विभिन्न कार्यक्रम सम्पन्न गरेको हाे ।

जिल्ला अस्पतालमा बिरामी कुरुवालाई आवश्यक सामाग्री सहयोग गर्ने र संस्थाद्वारा संचालित परोपकारी कामका लागि आर्थिक स्राेत संकलन गर्न भएको च्यारिटी डिनर र सांस्कृतिक साँझमा लोक गायक बिष्णु क्षेत्री, सुमी घिमिरे सापकोटा र जीत तिलिजा मगरले मनोरञ्जन गराएका थिए । स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमका लागि करिब ५४ लाख नेपाली रुपैयाँ बराबर संकलन भएकोमा कार्यक्रमको खर्च कटाएर बाँकी रकम संस्थाले परोपकारी काममा सहयोग गर्ने आर्थिक सहयोग संयोजक कृष्ण तिवारीले जानकारी दिए ।

बेनेलक्स एवम् युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारी, लुभेन नगरपालिकाका मेयर मोहम्मद रिदवानी र अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गुणराज शर्माद्धारा संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजदुत राजभण्डारीले नेपालमा गरिने परोपकारी कामका लागि परदेशबाट नेपालीहरुले गरेको सहयोगका लागि गरेको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

बेल्जियमको लुभेन नगरपालिकाका मेयर रुदवानीले बेल्जियमको लुभेन शहरमा धेरै देशका मानिसको बसोबास रहेकोमा नेपालीहरुको पहिचान, आर्थिक र सामाजिक योगदान विशेष रहेको बताए ।

मेयर रुदवानीले लुभेनमा बसोबास गर्ने नेपालीहरुको आपसी सहयोग, सद्भाव र ऐक्यबद्धता प्रभावित भएर लुभेन नगरपालिका र नेपालको कुनै एक नगरपालिकाबीच भविष्यमा आपसी सहयोग आदान प्रदानका लागि आफुले काम गर्न चाहेको बताउँदै आफु नेपालको भ्रमण गर्न उत्सुक रहेको बताए ।

कार्यक्रमको सफलता र अन्तरराष्ट्रिय पर्वत समाजको परोपकारी अभियानको प्रगतिको कामना गर्दै अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरी, चारभन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङ, अन्तर्राष्ट्रय चारभन्ज्याङ तमु समाजका अध्यक्ष रिटायर्ड लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङ, तमु धिं युकेका अध्यक्ष हरी गुरुङ, गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, संघका पूर्व अध्यक्ष गंगाधर गौतम, पूर्व केन्द्रीय उपाध्यक्ष नारायण आचार्य, समाजका बरिष्ठ उपाध्यक्ष दधि आचार्य, संरक्षक सुरेन्द्र भुषाल, दुर्गाप्रसाद श्रेष्ठ, समाजका सल्लाहकार मनोहरी शर्मा (ठाकुर), लाल गुरुङ, लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सहयोगी दाताहरुलाई मायाको चिनो र प्रशंशा पत्र दिँदै सम्मान गरिएको थियो । कार्यक्रमको संचालन समाजका महासचिब प्रकाश पौडेल र सांस्कृतिक कार्यक्रमको संचालन सचिब दिपक न्यौपानेले गरेका थिए । समाजका सचिब कमल लामिछानेले कार्यक्रमको डिजिटल ब्यवस्थापन र प्रसारण गरेका थिए ।

च्यारिटी डिनर एवम् सांस्कृतिक कार्यक्रमका सभापति समाजका अध्यक्ष गुणराज शर्माले पर्वत जिल्लामा परोपकारी कामका लागि आवश्यक पर्ने आर्थिक कोषका लागि आयोजना गरेको कार्यक्रम सफल बनाउन बेल्जियममा बसोबास गर्ने सबै प्रवासी नेपालीहरुको सहयोग रहेकोमा सबै प्रति आभार र सम्मान व्यक्त गर्दै धन्यवाद दिए ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १४:४०   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।