Logo

अर्थ

सहकारीसम्बन्धी संसदीय समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलायो



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ ।

देशभर प्रहरी कार्यालयहरुले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन शुक्रबार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएको समितिका संयोजक सांसद सूर्य थापाले जानकारी दिए ।

‘सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरुको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने गरी भोलिका लागि बैठक राखेका छौं’, उनले भने ।

समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको थियो । आजको बैठकमा नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकता लगायतका विषयमा गम्भीर छलफल भएको  संयोजक थापाले बताए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सहकारीको बचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।

 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १५:१९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।