काठमाडौं । साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ ।
सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ ।
साउनमा हिन्दूहरु शिवको मन्दिरमा गएर भगवान् शिवप्रति श्रद्धा अर्पण गर्दछन् । साउनको सोमबार शिवभक्तहरु व्रत बस्ने गर्दछन् । साउनको सोमवार शुद्ध हृदयले व्रत बसेर भगवानको पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौं गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ ।
पुराणहरुमा मुख्य तीनथरी व्रतको चर्चा पाइन्छ । ती हुन्– साउने सोमबार, सोह्र सोमबार एवं सोह्र पद्रोस । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ। यो व्रत विधि सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रर्त गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने विश्वास छ ।
पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ । तर यस पटक भने चार सोमबार रहेका छन् ।
विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।
साउन सोमबार व्रत विधि
साउनको सोमबमर दिनभर निराहार भएर व्रत बस्ने गरिन्छ । बिहान स्नानादि नित्य कर्म सकेर व्रतको संकल्प गर्नुपर्छ । त्यसपछि घरमै अथवा शिवमन्दिरमा गएर गंगाजल, बेलपत्र, सुपारी, फूल, धतुरो, भाङ आदिले भगवान् शिवको पूजा गरिन्छ । विधिपूर्वक पूजा सम्पन्न गरेपछि व्रत कथा सुन्ने चलन पनि छ ।
साथै, व्रत बस्नेले शिवको मन्त्र जप पनि गर्दछन् । साउनको सोमबार व्रत बस्नाले वर्षभरिको सोमबार व्रत बसेको पुण्य मिल्ने पुराणहरुमा उल्लेख छ ।
साउनको सोमबार निषेधित कार्य
साउनको सोमबार व्रत नबसे पनि कुनै पनि अनैतिक कार्यबाट टाढा रहनुपर्छ, गलत विचार र आचरणबाट टाढा रहनुपर्छ, ब्रह्मचार्यको पालना गर्नुपर्छ, साउनको सोमबार छिटै उठेर भगवान् शिवको ध्यान गर्नुपर्छ, ठूलालाई सम्मान गर्नुपर्छ भने कुनै पनि असहायको अवहेलना गर्नुहुँदैन, साउनमा मांस मदिराबाट टाढा रहनुपर्छ, यसले जीव हत्याको पाप लाग्नुका साथै तन, मन पनि अशुद्ध हुन्छ, साउन हरियालीको मौसम हो, हरियाली शिवजीलाई अत्यन्त मन पर्छ, त्यसैले साउनमा रुखबिरुवा काट्नु अशुभ मानिन्छ ।
किन व्रत बसिन्छ ?
पौराणिक मान्यता अनुसार सोमबारको व्रत बस्नाले चन्द्र ग्रह सबल हुन्छ । चन्द्र सबल भएमा इच्छाइएका सम्पूर्ण शुभभाव पूरा हुन्छन् । यसबाट फोक्सो, दम र मानसिक रोगबाट मुक्ति मिल्छ । अविवाहित युवतीको लागि यो व्रत निकै लाभदायक हुन्छ । १६ वटा सोमबमर शिवको व्रत बसेमा उत्तम वर प्राप्त हुने पुराणमा उल्लेख छ । जसले शुद्ध अन्तःकरणले शिवको उपासना गर्दछ, उसले शिवलोकमा शिवसायुज्य प्राप्त गर्दछ ।
शिवको नाम मात्रले सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने मान्यता छ । भगवान् शिव भक्तसँग छिट्टै खुसी हुन्छन्, त्यसैले उनको नाम नै आशुतोष छ । उनको कृपा आशीर्वादले मानिसले जीवनमा सबै संकटबाट मुक्ति पाउँछ र जीवन आनन्दमय हुन्छ ।
















प्रतिक्रिया