Logo

कर्पोरेट फोकस

तिहारमा पनि बैंकिङ सेवा खुला राख्न राष्ट्र बैंकको निर्देशन !



काठमाडौं । तिहारको सार्वजनिक बिदामा पनि भन्सार जाँचपाससँग सम्बन्धित बैंकिङ कारोबार सञ्चालन हुने भएको छ। नेपाल राष्ट्र बैंकले कात्तिक २२ देखि २६ गतेसम्म भन्सार प्रयोजनका लागि आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

भन्सार विभागको आग्रहपछि राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाएको हो। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै सार्वजनिक बिदाका दिनमा समेत भन्सार जाँचपाससँग सम्बन्धित बैंकिङ कारोबार नरोक्न भनेको छ।

तिहारको बिदाका कारण आयात–निर्यात व्यापार प्रभावित हुन नदिन तथा भन्सार नाकामा मालवस्तुको जाँचपास प्रक्रिया सहज बनाउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

विशेषगरी भन्सार महसुल तथा अन्य राजस्व भुक्तानीसँग सम्बन्धित बैंकिङ सेवा निरन्तर हुँदा मालवस्तु आयात–निर्यातमा हुने ढिलाइ कम हुने अपेक्षा गरिएको छ। यसले आपूर्ति प्रणालीलाई नियमित राख्न र व्यापारिक कारोबारलाई सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सार्वजनिक बिदाका दिन सामान्य बैंकिङ सेवा बन्द रहे पनि भन्सार प्रयोजनका लागि आवश्यक कारोबार भने तोकिएको अवधिभर सञ्चालन हुनेछन्।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलवार १०:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।