Logo

मधेश प्रदेश

कोरोनाबाट कैलालीको गौरीगंगाका वडाध्यक्षसहित थप ४ जनाको मृत्यु



नेपालमा कोरोना भाइरसबाट थप चार जनाको मृत्यु भएको छ ।  विभिन्न प्रदेशस्थित स्वास्थ्य निर्देशनालयबाट प्राप्त विवरण अनुसार चार जनाको मृत्यु भएको हो । काेराेनाबाट पछिल्लाेपटक दाङका १ जना, कैलालीमा १ जना र विराटनगरका दुई जनाको मृत्यु भएको हाे ।

बाँकेकाे भेरी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  दाङको लमही नगरपालिका–१० का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा कात्तिक १४ देखि १८ गतेसम्म उपचार गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि कात्तिक १९ मा भेरी अस्पतालमा ल्याइएको थियो ।

यस्तै, कैलालीमा मृत्यु हुने जनप्रतिनिधि हुन् । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता समेत थिए ।

यस्तै, कोरोना संक्रमित दुई महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । धनकुटा–४ की ३२ वर्षीया महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा आज मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो ।

उता। विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया संक्रमित महिलाको पनि उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ । ती महिलाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  २ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।