Logo

अर्थ

चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न भौतिकमन्त्री दाहालको निर्देशन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।

आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा आयोजित सरोकारवालाबीचको छलफलमा उनले चाडपर्व सुरु हुनु अघि नै सडकका खाल्डाखुल्डी तत्काल पुरिसक्न निर्देशन दिएका हुन् ।

जोखिममा रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न समेत उनले निर्देशन दिए ।

उनले सवारी नियम उल्लंघन नियन्त्रण, दुर्घटना भइहाले उद्धार र अस्पतालसम्म पुर्‍याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई समेत तयारी अवस्थामा रहन आग्रह गरे ।

दशैं, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको उनको भनाइ छ ।

चाडपर्वको समयमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने उनले बताए ।

कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालय, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभाग लगायत विभिन्न निकायका अधिकारीहरूले सडक सुरक्षाका लागि भइरहेका प्रयास र योजना बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार १४:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।