Logo

धर्म / संस्कृति

आज बर्षकै ठूलो एकादशी, तुलसी बिवाह गरिदै



आज हरिबोधनी अर्थात ठूलो एकादशी,  हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाइ ब्रत बसेका छन् । आज विहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदै छ । घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ ।

घरमा तुलसी नरोप्नेहरु समेत छिमेकी कहां गएर तुलसीको पुजा गर्ने गर्दछन । अक्सिजन बढी दिने र सुगन्ध आउने बनस्पति हुनाले तुलसीलाई औषधीको रुपमा समेत प्रयोग गरिन्छ ।

असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु आज निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वास छ । आज ब्रतालुहरु तीर्थमा नुहाई तरुल, सकरखण्ड तथा फलफूल मात्रै ग्रहण गरी बस्ने गर्दछन । ठूलो एकादशीको अवसरमा धादिङको गंगाजमुना, काभ्रेको बलथली लगायत देशभरका तीर्थस्थलहरुमा ब्रतालुहरुको घुईचो लागेको छ । खाशगरी कालीगण्डकी किनारका तीर्थस्थलहरुमा स्नान गरी भगवान बिष्णुको अबतार मानिने शालिग्रामको पूजा गरेमा पूण्य मिल्ने धार्मिक बिश्वास छ ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीसवटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ ।

यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ । यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् ।

विष्णु क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यता अनुसार चतुर्मासभरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार मुहूर्त निस्कँदैन ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार ०९:४७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।