काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बैंकले ब्याजदर मंसिरको तुलनामा बढाएका छन् भने केहीले घटाएका छन् । अधिकांशले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
ब्याजदरको सूचना प्रकाशित गरेका १७ वाणिज्य बैंकमध्ये १२ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा मंसिरकै दरलाई निरन्तरता दिएका छन् । त्यस्तै २ बैंकले घटाएका छन् भने ३ बैंकले ब्याजदर बढाएका छन् ।
पुसमा ब्याजदर बढाएर प्रकाशित गर्ने बैंकहरुमा प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र एनएमबि बैंक रहेका छन् ।
घटाउनेमा नेपाल बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।
त्यस्तै, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, प्रभू बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकले मंसिरकै ब्याजदरलाई पुसका लागि पनि निरन्तरता दिएका छन् ।
प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ ३ देखि ६ महिनाको ब्याजदर ५.५० प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मको ब्याजदर ५.७५ प्रतिशत, १ वर्षे अवधिको ब्याजदर ६ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ६.२५ प्रतिशत तोकिएको छ । मंसिरमा ३ देखि ६ महिने अवधिको मुद्दति निक्षेपको ब्याजदर ४.५० प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको ४.७५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको ब्याजदर ५.७५ प्रतिशत रहेको थियो ।
कृषि विकास बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५३६३ लाई बढाएर ५.५७ प्रतिशत पुर्याएको छ भने एनएमबि बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम ब्याजदर ५.५७ प्रतिशतबाट बढाएर ६.६ प्रतिशत पुर्याएको छ ।
एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ मंसिरमा रहेको ६.७९ प्रतिशतको अधिकतम ब्याजदरलाई घटाएर पुसमा ६.६ प्रतिशतमा झारेको हो । यस्तै, संस्थागतको ५.७९ प्रतिशतलाई घटाएर ५.६ प्रतिशतमा झारेको छ ।
नेपाल बैंकले ५.९५ प्रतिशत अधिकतम रहेको व्यक्तिगत मुद्दतितर्फको ब्याजदर घटाएर ५.६ प्रतिशतमा सीमित गरेको छ भने संस्थागतर्फको ४.९५ प्रतिशतलाई घटाएर ४.७ प्रतिशतमा झारेको छ ।




















प्रतिक्रिया