काठमाडौं । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) बाँकी अवधिमा प्रदेशसभामा नफर्किने निश्चित भएको छ ।
प्रदेशसभाको पदावधि ६ महिना बाँकी छँदै उनी कैदमुक्त हुनेछन् । तर फौजदारी कसुरदार ठहर भएकाले कैदमुक्त भएपनि उनले सांसदको हैसियतले काम गर्न पाउने छैनन् ।
२१ कार्तिकमा मनाङेलाई ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर गरेको सर्वोच्च अदालतले आईतबार त्यो मुद्दाको पूर्णपाठ सार्वजनिक गरेको हो ।
त्यससँगै मनाङेको गण्डकी प्रदेशसभा सदस्य पद निलम्बनमा परेको थियो । २०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ)को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा मनाङेले आफूले सफाइ पाउनुपर्ने माग गर्दै सर्वोच्चमा पुनरावेदन दिएका थिए ।
मनाङेले पहिले दुई वर्ष आठ महिना कैद अवधि भुक्तान गरिसकेको भन्दै दुई वर्ष चार महिनाको कैद भुक्तान गराउन फैसला दिएको हो । फैसलाअनुसार मनाङे कारागार कार्यलय डिल्लीबजारमा आफ्नो कैद भुक्तान गरिरहेका छन् ।
२७ कार्तिक २०८१ मा पक्राउ परेका उनी त्यो दिनदेखि गणना हुने गरी दुई वर्ष चार महिना कैद बस्नुपर्नेछ । २६ फागुन, २०८३ मा मात्रै उनी कैदबाट रिहा हुनेछन् ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३(६)मा पाँच वर्ष वा त्यो भन्दा बढी कैद सजाय पाएको र कैद भुक्तान भएको पाँच वर्ष पुरा नभएको व्यक्ति निर्वाचनमा उम्मेद्वार बन्न समेत अयोग्य हुने व्यवस्था छ । कैदमुक्त भएको पाँच वर्षपछि मात्रै उनी निर्वाचनमा उम्मेद्वार बन्न योग्य हुनेछन् ।




















प्रतिक्रिया