Logo

अन्तर्राष्ट्रिय

अमेरिकामा ट्रम्पको पुनरागमनले नेपाल र नेपालीलाई के हुन्छ ?



काठमाडाैं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरुवात गरेसँगै जारी भएका कार्यकारी आदेश र उनका घोषणाले अमेरिकी विदेश नीतिमा आमूल परिवर्तन हुने भन्दै विज्ञहरूले अमेरिकासँगको सम्बन्धको समग्र समीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

नेपाललाई जलवायु वित्तपोषणको एजेन्डामा प्रत्यक्ष प्रभाव पर्ने उल्लेख गर्दै उनीहरूले भारत र चीनसँग समनिकटता कायम गरेर अमेरिकासँग परिपक्व रूपमा सम्बन्ध सञ्चालन गर्न पनि सुझाव दिएका छन् ।

ट्रम्पले कार्यकालको पहिलो दिन कानुनी आप्रवासी निकाला गर्ने, मेक्सिकोसँग सीमा क्षेत्रमा संकटकाल लगाउने, ग्रिनल्यान्डको स्वामित्व लिने, विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई अलग गर्ने, जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अलग हुनेलगायत निर्णय गरेका छन् ।

अमेरिकामा जन्मनासाथ अमेरिकी नागरिकता पाउने नियम खारेजी लगायतका उनका निर्णयले विश्वमा हलचल उत्पन्न गरेको छ । यसअघि अमेरिकी राष्ट्रपतिहरूले शपथग्रहणका दिन उद्घाटन मन्तव्य दिने चलन रहेकोमा ट्रम्पले भने धमाधम निर्णय गरेका छन् ।

अमेरिकाका लागि पूर्वनेपाली राजदूत तथा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले दोश्रो विश्वयुद्धपछि अमेरिकाले पहिलोपटक विदेश नीतिमा आमूल परिवर्तन गर्न लागेको र नेपालले गहनरुपमा समीक्षा तथा अध्ययन गर्नुपर्ने बताए ।

‘अमेरिकाले विदेश नीतिमा ल्याउने परिवर्तनलाई नेपालले गहनरुपमा अध्ययन गर्नुपर्छ । अमेरिकालाई हेर्ने हाम्रो नीति र अमेरिकाको विदेश नीतिले नेपाललाई पर्न सक्ने परिवर्तनका बीचमा सामञ्जस्य कायम गर्दै सम्बन्ध सञ्चालन गर्ने चुनौति बढेको छ’ थापाले भने, ‘नेपालले ठोस दृष्टिकोण बनाएको छैन ।

अब गम्भीर समीक्षा गर्ने बेला आएको छ । अमेरिकाको नयाँ निर्णयले त्यहाँ रहेका नेपाली नागरिकलाई पार्ने असर तथा सामाजिक आर्थिक सम्बन्धलाई पार्ने असरका बिषयमा गम्भीर गृहकार्य गर्नुपर्छ ।’

प्रकाशित मिति : माघ ९, २०८१ बुधबार  ७ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।