भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस सुरू भएको छ ।
आज जिल्ला अदालतका पाँच नम्बर न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहसमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस सुरु गरेका हुन् । बहस सुरु भएको जिल्ला अदालत रुपन्देहीका रजिस्टार यज्ञमूर्ति ज्ञवालीले बताए ।
दुवै तर्फबाट बहस सकिए आजै थुनछेकको आदेश आउने संभावना छ ।
बिहीबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बिहीबार वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता बसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनिल लामिछाने, पवित्र भण्डारी, सोमकान्त भण्डारी, उप न्यायाधिवक्ता रवि न्यौपाने, प्रकाश मरासिनीले बहस गरेका थिए ।
त्यस्तै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।
दुवै तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुर्पक्षाका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछाने,पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध ठगी,केहीविरुद्ध संगठित ठगी र सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भएको छ।




















प्रतिक्रिया