Logo

पत्रपत्रिका

दलहरु आन्तरिक कलहमा : रवि जिल्लातिर, अस्थिरता कायम



भक्तपुर । दुई तिहाईको सरकार निर्माण गरेपछि संविधानमा आवश्यक संशोधन हुने अपेक्षासहित बनेको वर्तमान सरकारले खासै गति लिन सकेको छैन ।

६ महिने अवधि व्यतित गरिसक्दा पनि सरकार जुन उद्देश्यबाट स्थापित भएको थियो, त्यसको औचित्य स्थापित गर्न नसकिएको अवस्था छ । सरकारमा सामेल दलहरुका बीचमा समेत मनमुटाव उत्पन्न भैरहेका छन् । सरकारमै रहेका दलहरुले एकअर्कालाई शंकाको घेरामा राखिरहेको अवस्था छ ।

सरकारले सोचे अनुसारको गति लिन नसकेको स्थितिमा सरकारमा रहेका दलहरुले कमी कमजोरीलाई अर्को दलको थाप्लोमा फ्याल्ने प्रयत्न गरिरहेका छन् ।
सरकारमा रहेका दलहरुका बीचमा मतैक्यता हुन नसकेको अवस्था छ । यो अवस्थामा उनीहरु आन्तरिक समस्यामा समस्या रुमलिन पुगेका छन् ।

यो रोग सरकारमा रहेका सबैजसो दलहरुमा रहन पुगेको अवस्था छ । सरकारमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । यो दलमा आसन्न महाधिवेशनलाई लिएर आन्तरिक कलह चालू छ । खासगरी भोलिको दिनमा सभापति र महामन्त्रीमा कसले प्रतिस्पर्धा गर्ने भन्ने विषयलाई लिएर कांग्रेसमा कलह देखिएको छ ।

कांग्रेसका सभापति अर्को महाधिवेशन आउने समयमा पनि विभिन्न विभागहरुलाई पूर्णता दिने कार्यमा लागिपरेका छन् । अघिल्लो महाधिवेशन भई नतिजा आउना साथ गरिनुपर्ने मनोनयनहरु अहिले आएर गरिन थालिएको अवस्था छ । यसैगरी अझै पनि कतिपय विभागहरुले पूर्णता पाउन नसकेको अवस्था छ ।

यसैगरी कांग्रेसका भातृसंस्थाहरुमा पनि बेहालको अवस्था छ । सबैजसो भातृ संस्थाहरु काम चलाउको अवस्थामा छन् । कांग्रेसको महाधिवेशनपूर्व नै ती भातृसंस्थाहरुको महाधिवेशन गर्नुपर्ने अवस्था छ ।

त्यतातर्फ कांग्रेस नेतृत्वको ध्यान गएको छैन । यसैगरी आसन्न महाधिवेशनको विषयलाई लिएर कांग्रेस आफैं रुमलिएको अवस्था छ । सभापति देउवा सरकारको नेतृत्व आफूले गरेर महाधिवेशन पछि सार्ने सोचमा रहेका छन् ।

कांग्रेसले आगामी चैत्रभित्रमा सदस्यहरुको नवीकरण गरिसक्नुपर्ने अवस्था छ । समयमै महाधिवेशन गराउनका लागि सदस्यता नवीकरण महत्वपूर्ण कार्य हो । यसकालागि समेत समय पछि सार्दै लाने कार्य हुँदै आएको छ । कांग्रेसमा अबको महाधिवेशनबाट सभापति को बन्ने भन्ने कुराले बढी महत्व राख्ने गरेको छ ।

हालका सभापति देउवा कांग्रेसको विधान अनुसार अब सभापतिमा उम्मेदवार बन्न नपाउने अवस्था छ । यस्तो स्थितिमा उनले आफ्नो उत्तराधिकारी कसलाई तोक्ने हुन् भनी बडो चासोका साथ हेरिएको छ ।

त्यसो त दउवाले आफू उम्मेदवार नबन्ने घोषणा गर्दै विधान अनुसार उम्मेदवारी दिन कसैलाई नरोकिने अवस्था रहेको बताउने गरेका छन् । उनले अहिले आफूले अभिभावकको भूमिका निर्वाह गरिरहेको अवस्थामा कांग्रेसका सबै नेता कार्यकर्ता आफ्ना लागि समान अवस्थामा रहेका भन्ने गरेका छन् ।

पदीय हिसाबले देउवाका कुरा सहज मानिए पनि उनी भित्री रुपमा आफ्नो उत्तराधिकारीको खोजीमा रहेको स्रोतको दाबी छ । देउवाले आफूपछि आफ्नो छोरालाई राजनीति र पदमा खासै चासो नभएको भनी बताउने गरेका छन् ।

त्यस्तो अवस्थामा देउवाको आशीर्वाद पाउनका लागि लालाहित हुनेहरुको संख्या कांग्रेसमा ठूलो छ । कांग्रेसमा खासगरी पूर्णबहादुर खड्काले देउवाको आशीर्वाद चाहिरहेका छन् ।

यसैगरी देउवाकी पत्नी आरजु राणाले पनि सभापति नै नखोजे पनि उपसभापतिको अपेक्षा गरेको बताइन्छ । त्यसैले पनि देउवा आफ्नो अनुकुलको सभापति र उपसभापतिमा पत्नी आरजुलाई स्थापित गराउन चाहिरहेका छन् ।

यसका लागि उपयुक्त पात्र र अवसरको खोजीमा देउवा रहेका बताइएको छ । उता, सभापतिमा देउवाको समेत समर्थन लिएर आफू बन्ने सोचका साथ महामन्त्री गगन थापा लागिपरेका छन् ।

यसअघिको महाधिवेशनमा गगनले सभापतिमा साथ दिएका शेखर कोइराला यस पटक पनि उम्मेदवार बन्ने दौडमा लागेका छन् । कोइरालाको चाह थापाको समेत साथ होस् भन्ने रहेको छ ।

उता, थापा भने अघिल्लो महाधिवेशनमा कोइरालाले ‘एक पटक र अन्तिम पटक’ भनी सभापतिको लागि आफूलाई समर्थन गर्न भनेकाले यस पटक थापालाई सहयोग गर्नुपर्ने भन्ने कुरा पनि उठिरहेको छ । उता, देउवा पक्षधरहरु थापालाई देउवाको साथ रहे अरु विकल्पको खोजीमा लाग्ने सोचका साथ लागिरहेको अवस्था छ ।

यसरी सभापति पदमा मात्र नभई महामन्त्रीका लागि पनि कांग्रेसमा विभिन्न खाले प्रतिस्पर्धा हुने अवस्था देखिएको छ । यसैगरी दोस्रो ठूलो दल नेकपा ९एमाले० पनि आन्तरिक कलहमा रुमलिन पुगेको छ ।

खासगरी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको बोली र व्यवहारका कारण एमालेमा पनि समस्या उत्पन्न भैरहेका छन् । ओलीले विवादास्पद व्यापारीबाट पार्टीका लागि भनी जग्गादान लिने निर्णय गरेकोमा आपत्ति जनाउनेहरुलाई कारबाही गरेको कुरालाई एमालेजनले पचाउन सकिरहेका छैनन् ।

यसैगरी आफ्ना विरुद्ध प्रतिस्पर्धा गरेकै कारण भीमबहादुर रावलमाथि दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको घटनालाई पनि एमालेका इमान्दार कार्यकर्ताले सही रुपमा लिन सकेका छैनन् ।

रावललाई पार्टीबाट अलग गराउँदा पार्टीमा आफ्नो विरोधमा आवाज नउठ्ने सोचमा ओली रहेका छन् । सोही कारण पनि उनी कुनै पनि निर्णयबाट पछि हट्ने पक्षमा देखिएका छैनन् ।

यस्तो अवस्थामा रावलले भने छुट्टै अभियान संचालन गर्न थालेका छन् । रावलले अहिले पूर्वदेखि सुदूर पश्चिमसम्मको यात्रा तय गरिसकेका छन् ।
रावलका कारण कर्णाली र सुदूर पश्चिम प्रदेशमा एमालेका नेता कार्यकर्ताहरुले एमाले छोड्ने क्रम बढेको छ । यसैगरी जग्गादान प्रकरणमा कारबाहीमा परेका विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको कारबाही फिर्ता गरिनुपर्छ भन्ने आवाज एमालेमा उठिरहेको छ ।

त्यसलाई सम्बोधन गर्नुभन्दा अरुलाई समेत कारबाही प्रक्रिया अघि बढाएर ओलीले भने आफ्नो दलमा आफ्नो निर्णय विरुद्ध कोही बोल्न पाउँदैनन् भन्ने भाष्य विकास गर्न चाहिरहेका छन् ।

ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभामा भएको हालको संख्याका कारण संविधान संशोधनका लागि आगामी २०८७ सालसम्म कुर्नुपर्ने भन्ने कुरा गरेकाले यो बोली उनका लागि प्रत्यत्पादक बन्न पुगेको छ ।

यो भनाई कांग्रेससँगको सहकार्यका बेला गरिएको सात बुँदे सहमतिभन्दा पृथक रहेको भन्ने कुरा कांग्रेसका नेताहरुले गर्न थालेका छन् । यसैगरी ओलीले बोली फेर्दै गएमा त्यसले सरकार संचालनमा समस्या पार्ने भनी कांग्रेसका नेताहरुले भन्ने गरेका छन् ।

उता, ठूलो परिवर्तन गर्ने भन्ने नारा दिएर राजनीतिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले विभिन्न जिल्ला अदालतमा हाजिर हुनमा व्यस्त देखिएका छन् ।

करिब तीन महिना कास्की जिल्ला अदालतको आदेश बमोजिम कास्कीमा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई त्यो बेला सरकारी खर्चमा विभिन्न जिल्ला अदालतमा हाजिर गराइएको थियो । अहिले उनी धरौटी बुझाउँदै आफ्नै खर्चमा विभिन्न जिल्ला अदालतमा पुगी आफ्नो प्रतिरक्षा गर्न लागि परेका नयाँ विमर्शमा खबर छ ।

रुपन्देही जिल्ला अदातलमाबाट आइतबार १ करोड, कास्की र काठमाडौंमा धरौटीमा छुटेका उनका बारेमा अन्य अदालतले के कस्तो आदेश दिने हुन् भनी प्रतिक्षा गरिरहिएको अवस्था छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ०७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।