काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल एक स्थान खस्किएको छ ।
नेपाल ३४ अंकसहित १०७ औं स्थानमा झरेको छ । ५० भन्दा कम अंक पाउनेहरु भ्रष्टाचारले व्याप्त मुलुककै सूचीमा पर्छन ।
सर्वेक्षण शुरु भएको १२ वर्षको अवधिमा नेपालको स्कोर र वरीयताक्रममा हालसम्मकै उच्च हो ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासनव्यवस्थाको चुनौती नै रहेको बताए ।
विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।
ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रूपमा रहेको छ । भने साउथ सुडान ८अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।
दक्षिण एसियाली राष्ट्रमध्ये भुटानले ७२ अंक प्राप्त गर्दा भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, श्रीलंकाले३२ अंक,पाकिस्तानले २७ अंक, बंगलादेशले २३र अफगानिस्तानले १७ अंक प्राप्त गरेको छ । यस्तै चीनले४३ अंक प्राप्त गरेको छ ।
सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार जनाउने गरेको छ । विगत ५ वर्षमा ७ वटा मुलुकहरूले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा उल्लेख प्रगति हासिल गरेको प्रतिवेदनले जनाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरूलाई वर्गीकरण गरी ३० वर्षदेखि भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्दै आएको छ ।




















प्रतिक्रिया