Logo

अन्तर्राष्ट्रिय

ट्रम्प कि ! नेपाली नेता फ्रड ? कांग्रेससँग पनि भारत असन्तुष्ट



काठमाडौं । गत जनवरी २० मा एक पटक पराजित भई दोस्रो पटक अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेका डोनाल्ड ट्रम्पको पछिल्ला कार्यकारी आदेशहरूले विवादित रूपमा विश्वभर हलचल मच्चाइरहेका बेला नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको अनुदान रकम रोक्नुको कारण खुलाउँदै ट्रम्पले ‘फ्रड’ भनेपछि नेपालमा ठग नेताहरूको खोजी सुरु भएको छ ।

हालै वासिङटनको ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले नेपाललाई वित्तीय संघीयताका लागि २ करोड डलर र जैविक विविधता संरक्षणका लागि आएको १ करोड ९० लाखसहित दिँदै आएको ३ करोड ९० लाख डलर अनुदानका सम्बन्धमा नेपालको नामै लिएर ‘फ्रड’ भएको बताएपछि नेपालमा त्यस्ता ‘फ्रड’ गर्नेहरूको खोजी हुनुपर्ने बहस उठेको हो ।

अमेरिकाले भारतलाई निर्वाचन साक्षरताका लागि दिँदै आएको २ करोड १० लाख डलर पनि रोकेको थियो । तर, अमेरिकाबाट भारतमा गएको अनुदानमाथि प्रश्न गरे पनि ट्रम्पले त्यसलाई ‘ठगी’ भनेका छैनन् ।

ट्रम्पले नेपाल-भारतलगायत अन्य एसियाली देश, अफ्रिका र युरोपमा दिएको अनुदानबारे उक्त पत्रकार सम्मेलनमा प्रश्न उठाएका थिए ।

ट्रम्पले नेपालमा आएको सहयोगलाई ‘ठगी’ हो भनेपछि सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भएको छ । नेपालमा गएको पैसालाई ‘ठगी’ भन्नुले उक्त पैसा कसरी आयो, कहिले आयों, कहाँ खर्च भयो र कसले खर्च गर्यो भन्ने प्रश्न जन्माएका छन् ।

पैसा कसरी आयो र कहाँ गयो भन्ने विषयमा वृहत् छानबिन समिति नै बनाउनुपर्ने आवश्यकता रहेको पनि आवाज उठेको छ । हाल अमेरिकी सहयोग नियोग यूएसएडको अनुदानमा नेपालमा सञ्चालित ६ परियोजना रद्द हुनुका साथै अमेरिकी सहयोगको एमसीसी परियोजनाका कामको भुक्तानी पनि नेपालमा रोकिएको छ ।

ट्रम्पको यो ‘फ्रड’ ठोकुवा बारे नेपाल सकारको कुनै प्रतिक्रिया अहिलेसम्म सार्वजनिक भइसकेको छैन । तर, कांग्रेस र एमालेका केही नेताहरूले भने यसबारे चासो राखेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अहिले नेपालको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर अवस्थामा रहेको र आर्थिक अवस्था त झनै नाजुक अवस्थामा रहेको भन्दै यही बेला अमेरिकाले दिएको अनुदानलाई फ्रड भनेपछि अब बेल्ट टाइट गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताएका छन् ।

कोइरालाले सुर्खेतमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिले तीन महिनाका लागि रोकिएको र त्यो रकम कति रोकिने दिने वा नदिने भन्ने भोलिको कुरा भन्दै तर अब बेल्ट टाइट गरेर अगाडि बढ्नुपर्ने अवस्था आएको बताएका थिए ।

यस्तै, नेकपा एमालेका महासचिव शंकर पोख्रेलले विदेशी अनुदानका कार्यक्रमको झन्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि !

गरिबी माथिको अपमानवाट जोगिन आफ्नो देश आफैँ बनाउने अभियानमा जुटौं र भनौँ -हामी बनाउँछौं हाम्रो देश नेपाल’ । पोख्रेलको स्टाटसमा कमेन्ट गर्नेहरूमध्ये केहीले भने अनुदान खाएर मोटाएका चाहिं सबै एमालेजन मात्र हुन्। दाताले अब दान दिन छोडेपछि यिनको हाल के होला ? भनेर प्रश्न गरेका छन् ।

त्यसैगरी अर्का फेसबक प्रयोगकर्ताले डोनाल्ड ट्रम्पले वित्तीय संघीयताको अनुदानमा ठगी भयो भन्नु, यता वित्तीय अनुदानमा कुनै त्यस्तो पैसा आएको थाहा छैन भनेर सरोकारवालाहरूले भन्नु अनि एमाले नेताहरू हिजोदेखि ट्रप्पलाई अनेकथरी भन्दै हिँड्नुले कतै यो वित्तीय संघीयताको २० मिलियन डलरको ठगीको तार एमाले हेडक्वार्टरमै जोडिएको त छैन भन्ने कुराको गन्ध आउन थाल्यो त

! के अब नेपाल देश सकेर अमेरिकी सरकारलाई समेत ठगी गर्ने हैसियत बनाइसकेको हो त एमाले ले ?

याद रहोस् यस्ता आईएनजीओबाट पैसा लिएर काम चलाउने एनजीओहरू करिव ८० प्रतिशत एमालेका नेता कार्यकर्ताहरूकै रहेको छ ।

ए अनि…. देशमा उठेको राजस्वको कति रकम विकास बजेटमा छुट्याउने गरिएको छ ? थाहा छ नेताज्यूलाई ? भनेर प्रतिक्रिया जनाएका छन् ।

कांग्रेससँग पनि भारत असन्तुष्ट

नेपालको राजनीतिमा सदैव प्रभावकारी शक्तिको रूपमा रहेको दक्षिणी छिमेकी मुलुक भारत पछिल्लो समय नेपालको सत्ता समीकरण फेरबदलपछि भने दुई देशबीचको सम्बन्धमा सौहार्दपूर्ण नरहेको कूटनीतिक वृत्तमा चर्चा छ ।

असार १७ मा संसद्मा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएपछि कैयौं प्रयास गर्दा पनि भारतले अहिलेसम्म भ्रमणको निम्तो पनि दिएको छैन ।

नयाँ सरकार बन्नासाथ परराष्ट्रमन्त्रीको हैसियतमा डा. आरजु राणा देउवाले भारतको भ्रमण गर्दा राम्रो रेस्पोन्स गरे पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि भारत नराम्रोसँग चिढिएको छ ।

विगतदेखि नै भारतप्रति खरो टिप्पणी गर्दै आएका ओलीले पहिलो विदेश भ्रमण चीन गरेर त्यसको सन्देश दिइसकेका छन् । यसैगरी चुच्चे नक्साको विषय सुल्झिएको छैन भने इपीजी प्रतिवेदनबारे पनि ओलीको टिप्पणीप्रति भारत असन्तुष्ट रहेको छ ।

ओलीसँग रिसाएको भारत अहिले संसदको ठूलो दल नेपाली कांग्रेससँग पनि असन्तुष्ट बनेको रूपमा अर्थ लगाइएको छ । यसैको पछिल्लो पुष्टि हो, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगन ।

सभापति देउवाको भारत भ्रमण उड्नुभन्दा केही घण्टाअघि स्थगन भएको हो । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा पनि जाने र इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘विकास र दिगोपनमा कम्भ ग्लोबल समिट’ मा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

उक्त कार्यक्रममा भारतीय जनता पार्टी (बीजेपी) निकट संस्था इन्डिया फाउन्डेशनको प्रमुख भूमिका रहेको थियो। कांग्रेस स्रोतका अनुसार भारतीय दूतावासले नै भ्रमण रोक्न आग्रह गरेपछि देउवाले यात्रा स्थगित गरेको उनी निकट स्रोतले बताइएको छ ।

देउवाको भ्रमण स्थगित गर्न महाकुम्भ मेलामा जम्मा हुने ठूलो भीडलाई कारण बनाए पनि राजनीतिक पृष्ठभूमि लुकेको संकेत गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘भेटघाट गर्ने तीव्र चाहनामा रहेका देउवाको अपेक्षा पूरा नहुने भएपछि पनि भ्रमण स्थगन गरिएको बताइएको छ ।

भारतीय पक्षले देउवासँग प्रधानमन्त्री मोदीको भेटघाटको चाँजोपाँजो नमिलेपछि आफैँ भ्रमण नगर्ने निर्णय गरेको बुझिएको छ । यसअघि, देउवा प्रधानमन्त्री भएका बेला भारतसँग निकट सम्बन्ध कायम गर्ने प्रयासमा थिए ।

तर, हाल नेपालमा बदलिएको राजनीतिक परिस्थिति र भारत-नेपाल सम्बन्धका नयाँ समीकरणका कारण उनको भ्रमण भारतलाई त्यति प्राथमिकतामा नपरेको देखिएको खबर देशान्तरमा उल्लेख छ ।

ग्लोबल समिटमा देउवासँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित विभिन्न देशका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । इन्डिया फाउन्डेसनले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत उक्त कार्यक्रमको व्यापक प्रचार-प्रसार गरिसकेको थियो ।

तर, अन्तिम समयमा आएर नेपाल-भारत सम्बन्धका केही संवेदनशील कारणले भ्रमण स्थगित गर्नु परेको अनुमान गरिएको छ । हालैका दिनमा भारतले नेपालप्रति लिएको कूटनीतिक नीतिमा परिवर्तन देखिदै आएको छ ।

नेपालमा सत्ता समीकरण फेरबदल भएसँगै भारतले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति पनि असन्तुष्टि जनाइरहेको चर्चा चलिरहेको छ । अब कांग्रेससँग पनि भारत असन्तुष्ट भएको संकेत देउवाको भ्रमण स्थगनले देखाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलवार २२:४९   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।