Logo

प्रमुख समाचार

सिडिओमा उपसचिव खटाउने प्रवृत्ति रोक्न गृह मन्त्रालयकाे तयारी



काठमाडौँ । सहसचिव दरबन्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा उपसचिव खटाउने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तयारी अघि बढाएको छ ।

सहसचिवको दरबन्दी भए पनि अहिले १० जिल्लामा उपसचिव सीडीओको जिम्मेवारीमा छन् । उनीहरूका ठाउँमा पठाउन सरकारले सहसचिवहरूलाई गृहमा सरुवा गरिसकेको छ ।

७७ मध्ये ६१ जिल्लामा सहसचिव सीडीओ रहने गरी दरबन्दी व्यवस्था गरिएको छ । तर दुर्गम जिल्लामा सीडीओ बनेर जान सहसचिव नमान्ने भएका कारण सरकारले उपसचिव पठाउने गरेको छ । राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा पनि उपसचिवलाई सीडीओ बनाएर पठाउने प्रवृत्ति छ ।

सहसचिवको दरबन्दी रहेको जिल्लामा उपसचिवलाई सीडीओ बनाइएको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसपटक भने उपसचिव पठाउने प्रवृत्ति अन्त्य गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

सरकारले गत सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशलगायत विभिन्न स्थानमा कार्यरतसहित १७ सहसचिवलाई गृह मन्त्रालय सुरुवा गरेको थियो । गत माघ २६ मा बढुवाको नियुक्ति पाएका प्रशासन सेवाका ४८ सहसचिवमध्येबाट पनि केहीलाई गृह पठाइएको छ ।

सीडीओ हुने आकांक्षा बोकेका केही सहसचिवले भने राजनीतिक पहुँच प्रयोग गरेर गृहमा सरुवा मिलाएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार १५:५३   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।