Logo

प्रमुख समाचार

नयाँ प्रहरी महानिरीक्षकका लागि दीपक थापा अग्रपंक्तिमा



काठमाडौं । नेपाल प्रहरीको नेतृत्व फेरबदल हुने दिन नजिकिँदै गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा भावी प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने दौडमा सबैभन्दा अगाडि देखिएका छन् ।

हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थापा नेपाल प्रहरीभित्र उत्कृष्ट कार्यसम्पादन क्षमता, नीतिगत दूरदृष्टि र उच्च नैतिक छविका कारण सशक्त दाबेदार मानिन्छन् । वरीयता सूचीमा पहिलो स्थानमा रहेका थापालाई मन्त्रिपरिषद्ले मेरिटका आधारमा निर्णय गरेमा आईजीपी बन्ने सम्भावना उच्च देखिएको छ ।

२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थापा २०७९ चैत ६ मा बसन्त बहादुर कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । उनी हाल अनुसन्धानमुखी प्रहरी अधिकृतका रूपमा परिचित छन् । सीआईबीको नेतृत्व सम्हाल्दै आएका उनले विभिन्न गम्भीर अपराध अनुसन्धानमा सफलता प्राप्त गरेका छन्, जसले उनको कार्यक्षमताप्रति थप विश्वास दिलाएको छ ।

नेपाल प्रहरीको ३१औं आईजीपी बन्नका लागि थापा, सुदीप गिरी र टेक बहादुर तामाङ प्रतिस्पर्धामा छन् । वरीयता सूचीमा थापा पहिलो, गिरी दोस्रो र तामाङ तेस्रो स्थानमा छन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । सरकारले वरिष्ठता र कार्यक्षमताका आधारमा आईजीपी चयन गर्ने परम्परा निरन्तरता दिए थापा नेतृत्वमा आउने सम्भावना बलियो छ ।

अब मन्त्रिपरिषद्को निर्णयले नेपाल प्रहरीले कुन दिशामा अघि बढ्नेछ भन्ने निर्धारण गर्नेछ । तर हालसम्मको संकेतअनुसार दीपक थापा प्रहरी प्रमुख बन्ने बलियो सम्भावना देखिन्छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार २२:३१   :  बजे

3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।