काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकासका लागि कर्मचारीहरूको असल र सभ्य व्यवहारलाई महत्वपूर्ण मान्दै अध्यागमन कार्यालयका कर्मचारीलाई पर्यटकप्रति नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न निर्देशन दिएका छन् । रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालयको नयाँ, सुविधायुक्त भवनको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको भन्दै उनले सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिए ।
‘पछिल्ला दिनमा सबै ठाउँबाट पर्यटक आगमन राम्रो छ । यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पयर्टकको सम्भाना छ । हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउँछ ।’
उनले कर्मचारीहरूको व्यवहारलाई मुलुकको समग्र छवि प्रकट गर्ने पक्षको रूपमा हेरिदै, ‘कर्मचारीहरूले सभ्य र विनम्र व्यवहार गर्नुपर्छ। कतिपय अवस्थामा पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रियामा समस्या आइपर्दा रिसाउन सक्छन्, तर त्यस्तो अवस्थामा पनि हाम्रो व्यवहार सद्भावपूर्ण र नम्र हुनुपर्छ।’ उनले भने, ‘सेवामा समर्पित भावना हुनु आवश्यक छ, र कुनै पनि कर्मचारीले रिसाउने र सेवाग्राहीसँग खराब व्यवहार गर्नु हुँदैन।’
सम्पूर्ण मुलुकका सीमा क्षेत्रमा राम्रो सेवा प्रवाह र असल व्यवहारका लागि गृहमन्त्री लेखकले सबै कर्मचारीहरूलाई सचेत गराएका छन् ।




















प्रतिक्रिया