Logo

अर्थ

राष्ट्र बैंकद्धारा डिजल गाडीको पक्षपोषण: नीति विवाद र भ्रष्टाचारको आरोप



काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा र त्यसपछि जारी गरिएको सर्कुलरले फेरि नीतिगत विवाद र भ्रष्टाचारको आरोपलाई जन्म दिएको छ । सर्कुलरमा गरिएको संशोधनले डिजल गाडीलाई अनुकूलता पुर्याउने भएको भन्दै त्यहाँ नियामक निकायहरूले छानबिन गर्नुपर्ने कुरा उठेका छन् ।

नेपाली अर्थतन्त्रको परिप्रेक्ष्यमा, राष्ट्रबैंकको संशोधित नीति एक निश्चित व्यापारिक समूहलाई मात्र फाइदा पुर्याउने ढंगमा तयार पारिएको आरोप लागेको छ । यसले प्रमुख रूपमा विद्युतीय सवारी साधन (इभी)को बजारलाई कमजोर पार्ने र डिजल गाडीको पक्षमा हित साध्ने आरोपलाई बल दिएको छ ।

केन्द्रीय बैंकले इ. प्रा. निर्देशन नं. ३/०८१ को बुँदा नं १२ को उपबुँदा (७)मा संशोधनका क्रममा यस्तो देखिएको छ ।

संसोधित व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाको नाममा जारी गरिएको सर्कुलरमा भनिएको छः इजाजतपत्रप्राप्त संस्थाले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा देहायबमोजिमको सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ ।
(क) सबै प्रयोजनका विद्युतीय सवारी साधन र
(ख) निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधन ।

यस संशोधनले विशेषगरी विद्युतीय सवारी व्यवसायलाई हानी पुर्याउने र डिजल गाडी आयात गर्ने व्यवसायलाई पक्षपाती नीतिहरूका साथ फाइदा पुर्याउने आरोप लगाइएको छ । राष्ट्र बैंकले भने आफ्नो नीतिलाई जोखिमको मूल्याङ्कनका आधारमा लचिलो बनाउन चाहेको बताएका छन् ।

यस विषयमा इभी आयातकर्ता कम्पनीका प्रमुखहरूले भने यस प्रकारको नीतिगत विचलनले इभीको प्रयोगमा प्रोत्साहन ल्याउने सरकारी योजनालाई उल्टो असर पुर्याएको छ । डिजल गाडीलाई ९० प्रतिशतसम्म कर्जा सुविधा दिइएको र इभीलाई भने ६० प्रतिशतमा सीमित राख्नुले इभीको व्यापारलाई ध्वस्त पार्ने उद्देश्य राखेको इभी आयातकर्ता कम्पनीको दाबी छ ।

इभीका प्रयोगकर्ताहरूले पनि आफूहरूको व्यवसायमा लाभ कमाउने क्रममा दैनिक ६ हजार रुपैयाँसम्म बचत गर्न सक्षम भएको बताउँदै राष्ट्र बैंकको यस नीतिको विरोध गरेका छन् । यसमा पेट्रोलियम आयातको बढ्दो खर्च र व्यापार घाटामा प्रभाव पर्ने जोखिम पनि चिन्ताको विषय बनेको छ ।

यसअघिको सर्कुलरमा सवारी कर्जाको विषयमा भनिएको थियो ।
निजी प्रयोजनका सवारी साधन कर्जासम्बन्धी व्यवस्थाः
इजाजतपत्रप्राप्त संस्थाले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा ८० प्रतिशतसम्म मात्र गर्नुपर्नेछ ।

पहिलाको व्यवस्थामा कमर्सियल प्रयोजनमा प्रयोग हुने विद्युतीय सवारी र आईसीई सवारीमा प्रवाह हुने लोन टू भ्यालू रेसियोको विषयमा मौनता साँधेको देखिन्छ । तर, संसोधित व्यवस्थामा भने डिजलतर्फ मात्र मौनता साँधेर कमर्सियल इभीहरुमा दिइएको यसअघिको सुविधा सुनियोजित ढंगले खारेज गरिएको छ ।

नेपाल राष्ट्र बैंकको प्रमुख अधिकारी गुरुप्रसाद पौडेलले भने बैंकलाई सवारी कर्जामा जोखिमको आधारमा कर्जा प्रवाह गर्ने स्वतन्त्रता दिइएको छ । यसबारे कुनै पनि भ्रम नहुने जनाएका छन् । यस नीतिले डिजल गाडी र इभी बीचको भेदको मुद्दा अझै विवादास्पद बनेको छ ।

विद्युतीय सवारी साधनको पक्षमा सरकारले घोषणा गरेको छ । प्रोत्साहन र भन्सार छुटका बावजूद राष्ट्र बैकको नीति प्रचलनले भने सस्तो र दीर्घकालीन ऊर्जा समाधानका रूपमा विद्युतीय सवारी साधनको प्रयोगलाई घटाउने काम गरेको देखिन्छ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार १३:२३   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।