काठमाडौं । द्वन्द्वविज्ञ तथा विश्लेषक डा. धिरेन्द्र नाल्बोले पाथिभरा क्षेत्रमा केबलकार बनाउने बिषयले उत्त्पन्न भएको विवाद द्वन्दमा परिणत भएको र उक्त द्वन्द स्टेल्मेट अवस्थामा पुगेको बताएका छन् । मुक्कुम्लुङमा भएको ‘नो केबलकार’ आन्दोलन केवल केहि समयसम्मको विवादमात्र नभई ऐतिहासिक र इमोशनल पोलिटिक्ससँग जोडिएको द्वन्द्व भएको उनको बुझाई छ ।
उनका अनुसार पाथिभरामा भएको द्वन्द्वमा भावनात्मक बिषय जोडिएकाले यो अहिलेको मात्र नभई प्राचीन समयदेखि चलेको संघर्ष हो, जुन समयसँगै एक पुस्ताबाट अर्कोमा हस्तान्तरण हुँदै आएको छ। पाथिभरामा भएको द्वन्द्वलाई हालको घटनासँग मात्र सीमित नगरी यसलाई ऐतिहासिक दृष्टिकोणबाट बुझ्न जरुरी भएको उनको भनाई छ ।
उनले भनेका छन्-:’यो द्वन्द अहिले हेर्दा सामन्य लाग्न सक्छ। यो केवल पाथिभरामा भएको केबलकारको द्वन्द जस्तो लाग्न सक्छ तर यो यतिमात्र नभई ऐतिहासिक द्वन्द हो । जहाँ भावनात्मक पक्ष अत्यधिक महत्वपूर्ण हुन्छ, त्यहाँ समाधान पनि अत्यन्त सावधानीपूर्वक गर्नुपर्ने हुन्छ ।’
उनका अनुसार ‘नो केबलकार’ आन्दोलनको मुख्य कारण भनेको कुनै विशेष समूहको पहिचान, ऐतिहासिकता, सांस्कृतिक र भावनात्मक पक्षसँग जोडिएको भावनात्मक विरोध हो । कुनै द्वन्द्व भावनामा आधारित हुन्छ भने, त्यसलाई सुल्झाउन विशेष ध्यान र समझदारीको आवश्यकता पर्ने उनी बताउँछन् । यसलाई सही समयमा र सही तरिकाले समाधान गर्न सकिएन भने त्यसले गम्भीर दुष्परिणाम निम्त्याउन सक्ने उनको विश्लेषण छ ।
शान्ति क्षेत्र नेपालमा भएको दश बर्षे जनयुद्दको स्मरण गर्दै उनले भावनासाहितको पिडा जोडिएकाले मान्छे पुस्तौंपछि पनि पहिचान खोज्ने र अस्तित्व बचाउने लडाई लड्ने ज्यान दिएर भए पनि लड्न तयार हुने बताए । आफ्नो योग्यता र अनुभवका आधारमा उनले ताप्लेजुङको पाथिभरामा सुरु भएको आन्दोलन र बिद्रोहलाई संकुचित र हल्का रुपमा नलिन समेत सरकारलाई आग्रह गरेका छन् ।
डा. नाल्बोले आफ्नो अनुभव र अध्ययन अनुसार यो द्वन्द्व छोटो समयका घटना नभएर एक दीर्घकालीन र गहिरो द्वन्द्वका भएको बताएका छन् । उनका अनुसार यो द्वन्द्व ‘लेटेन कन्फ्लिक्ट’ अर्थात् लुकेको द्वन्द्व हो जसको प्रभाव समाजमा लामो समयसम्म रहन्छ। त्यसकारण २ /४ जना मारेर द्वन्द समाधान हुन्छ भन्ने सोच्नु गलत भएको उनको दावी छ । साथै, उनले ताप्लेजुङको आन्दोलनमा सबैभन्दा महत्वपूर्ण पक्ष इमोसन जोडिएको र यो इतिहास, संस्कृति र देशकै पहिचानको लडाई भएकाले यसलाई साँघुरो दृष्टिकोणले नहेर्न सुझाव समेत दिएका छन् ।
द्वन्दमा इमोसन जोडिएपछि गुजरात, अफ्रिका, सुडान लगायतका देशमा उत्पन्न भएको द्वन्दको र यसले निम्त्याएको दिर्घकालिन समस्याको उदाहरण दिँदै उनले पाथिभरामा भएको ‘नो केबलकार’ को आन्दोलनलाई सामन्य रुपमा लिन नहुने जिकिर गरे । साथै, विकासका ठूलाठूला परियोजनाहरूको परिकल्पना गर्दा त्यस क्षेत्रका स्थानीय समुदायको भावनात्मक पक्षलाई बुझ्न अति महत्त्वपूर्ण हुने उनको बुझाई छ ।
उनले विकासका परियोजनालाई केवल नाफा र घाटासँग मात्र जोडेर हेर्ने नमिल्ने बताए । सन् २००९ मा चाइना सरकारले बर्मामा ३.६ बिलियन डलरको लगानीमा इरावती नदीमा ‘मिसो ड्याम’ परियोजना सुरु गरेको र स्थानीय जनताले विरोध जनाएपछि स्थिति भयाबह हुने आंकल गरी भारतीय राष्ट्रपतिकै निर्देशनमा २०११ मा परियोजना बन्द गरिएको थियो ।
‘स्थानीय जनताको भावना बुझेर एउटा राज्यले अर्को शक्तिशाली राज्यसँगको संझौता समेत रद्द गर्न सक्छ भने एउटा व्यापारीको निजी स्वार्थमा बन्न लागेको परियोजना स्थगित गरी द्वन्द समाधान किन गर्न सक्दैन?’ उनले प्रश्न गरेका छन् ।
लगानी डुब्यो भन्ने व्यापरी चन्द्र ढकाललाई लाग्छ भने पाथिभराका जनताले चन्दा उठाएर भएपनि क्षेतिपूर्ति दिन सक्ने तर भावनात्मक बिषय जोडिएकाले उक्त क्षेत्रमा केबलकार कुनै हालतमा बनाउने नदिने पक्षमा स्थानीय रहेको उनको भनाई छ ।
पाथिभराका जनता र केबलकार निर्माणले निम्त्याएको द्वन्द्व समाधानलाई राज्यले पहिलो प्राथमिकतामा राखेर शान्तिपूर्ण विकास खोज्नुपर्ने उनको सुझाव छ । पाथिभराको मात्र नभई जनभावनासँग जोडिएका बिषयप्रति गम्भीरताका साथ लागेर राज्यले दिर्घकालिन समाधान खोज्नुपर्ने उनी बताउँछन् ।
प्रतिक्रिया