काठमाडौं । राजा वीरेन्द्रले २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनको चर्को राप र तापपछि जेठ १० गते आफ्नो नेतृत्वमा चलेको निर्दलीय पञ्चायत व्यवस्था र बहुदलीय संसदीय व्यवस्थाका बीच जनमत संग्रहको घोषणा गरेका थिए ।
त्यतिबेला बीपी कोइराला आत्म–निर्वासन त्यागेर राष्ट्रिय एकता र मेलमिलापको नीतिका साथ स्वदेश फर्किइसक्नु भएको थियो ।
उहाँले जनमत संग्रहलाई निःसर्त स्वीकार गर्नुभएको थियो भने कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई, कम्युनिस्ट नेता मनमोहन अधिकारी र उहाँको समूह तथा अन्य सबै प्रतिपक्षी नेताहरूले निष्पक्ष जनमत संग्रहका लागि केही सर्तहरू राखेका थिए ।
त्यो परिदृश्यमा बीपी लगभग एक्लै हुनुहुन्थ्यो । त्यसबेला बीपी जयबागेश्वरी, चावहिलमा आफ्ना साहिला भाइ तारिणीप्रसाद कोइरालाको घरमा बस्नुभएको थियो ।
जेठ १० गतेको शाही घोषणापछि कोइराला निवासमा देशका ठूला–साना राजनीतिज्ञहरू समाजसेवीहरू, प्राध्यापक र बुद्धिजीवीहरूको लर्को लाग्दथ्यो । मानिसहरू जनमत संग्रहपछिको परिदृश्यबारे वीपीका विचार र विश्लेषण सुन्न लालयित थिए ।
त्यतिबेला न त सामाजिक सञ्जाल थियो, न त समाचारपत्रहरू सर्वसाधारण जनताको पहुँचमा नै थिए। समाचारपत्रहरू स्वतन्त्र पनि थिएनन् । बीपी त्यहाँ उपस्थित सबैको विचारलाई समेटेर जवाफ दिनुहुन्थ्यो ।
आफ्ना विचार अभिव्यक्त गर्ने क्रममा, बेग्ला बेग्लै सन्दर्भमा, उहाँ सबैसँग पटक पटक एउटै प्रश्न गर्नुहुन्थ्यो– बग्गीको अगाडि घोडा कि घोडाको अगाडि बग्गी ?
त्यतिबेला बीपीको यो प्रश्न कसैको दिमागमा पनि घुस्दैनथ्यो । अहिले, चार दशकपछि, नेपाली कांग्रेसको महाधिवेशनका सन्दर्भमा बीपी कोइरालाको घोडा र बग्गीको त्यो व्याख्या मेरो स्मृतिमा टड्कारो भएको छ ।
’प्रतीक्षारत प्रधानमन्त्री’ तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफन्तहरूसँग पहिले निर्वाचन गराउने र त्यसपछि मात्र महाधिवेशन गर्ने विचार प्रकट गर्न थाल्नु भएको छ ।
यो भनेको बग्गीको पछाडि घोडा बाँध्नु जस्तै हो । त्यसो त, देउवाले राजनीतिका यो कुरा बुझ्नुभएको छैन भन्न सकिँदैन ।
तर, मानिसका केही उमेरजन्य शारीरिक बाध्यता र व्यक्तिगत दायित्व हुन्छन् । त्यसले मानिसलाई विवेकपूर्ण निर्णय लिन दिँदैन ।
अर्कोतिर, सत्तामा बसेको मानिस यथार्थको सामना गर्न चाहँदैन । राजनीतिक घटनाक्रमको अध्ययन गर्ने एउटा स्वतन्त्र प्रेक्षकले यथार्थलाई नांगो आँखाले हेर्छ भने एउटा राजनीतिक कार्यकर्ताले आफ्नो स्वार्थका पक्षमा नेतालाई ’प्रिय’ लाग्ने कुरा मात्र बोल्छ । यो पुरानै चलन हो।
अहिले नेपालका नयाँ पुराना सबै राजनीतिक दलहरू पुस्तान्तरणको चापमा परेका छन् ।
पार्टीका कमान्ड सम्हालेर बसेका सबै दलका ठूला नेताहरूमा ’सम्माननीय’ बन्ने भोक जागेको छ भने नयाँ पुस्ताका कार्यकर्ताहरूमा सत्तामा पुग्ने र सुखको स्वाद चाख्ने रहर छ। सञ्चारको व्यापक प्रभावले मानिसहरूलाई सत्ताप्रति आवश्यकता भन्दा बढी नै सम्मोहित गराएको छ ।
यो दुर्दमनीय यथार्थलाई कुनै पनि पार्टीका सम्मान्य नेताहरूले बुझ्न चाहेको देखिएको छैन ।
नेताहरूले यो तथ्य बभनै पर्दछ– करोडौं करोड धन जुटाएर, पार्टीका लागि आलिसान भवन बनाएर मात्र पार्टी बलियो हुने होइन ।
पार्टीका सैद्धान्तिक आधारहरू जबसम्म सुदृढ हुँदैनन् तबसम्म परिवर्तन हुन सक्दैन ।
अहिले कांग्रेसको लोकतान्त्रिक समाजवाद र एमालेको जनताको बहुदलीय जनवाद राजनीतिक परिदृश्यबाट बाहिरिएका राष्ट्रवाणीमा खबर छ ।
सैद्धान्तिक स्पष्टताका लागि कनै पनि पार्टीका नेताहरू सजग हुन सकेका छैनन् ।





















प्रतिक्रिया