Logo

अर्थ

अब उद्योगहरूमा १२ घण्टा लोडसेडिङ हुने, किन आयो यस्तो अवस्था ?



काठमाडौं । भोलि शनिबारदेखि नेपालले भारतबाट केवल दिउँसो विद्युत् आयात गर्ने व्यवस्था लागू हुँदैछ । जसका कारण उद्योग क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुने संभावना रहेको छ । विद्युत् प्राधिकरणका स्रोतअनुसार नेपालले भारतबाट दिउँसोको समयमा मात्र विद्युत् आयात गर्न सक्ने हुँदा उद्योगमा लोडसेडिङको अवधि बढ्ने निश्चित भएको छ ।

हाल नेपालले भारतबाट पिक आवर बाहेकक समयमा विद्युत् आयात गरिरहेको छ । अर्थात्, साँझ ६ देखि १० बजेसम्म बाहेक २० घण्टा विद्युत् आयात भइरहेको छ । त्यसरी आयात हुने विद्युत्ले नेपालको उत्पादनले नपुग्ने माग धान्न सहयोग गरेको छ । त्यति हुँदा पनि उद्योगमा दैनिक ८ घण्टासम्म लोडसेडिङ भइरहेको छ ।

१५ मार्चदेखि भने सन आवर अर्थात बिहान ६ देखि बेलुका ६ बजेसम्म १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात हुने भएको छ । यसले उद्योगहरूमा भइरहेको लोडसेडिङ बढेर कम्तीमा पनि १२ घण्टा पुग्ने करिब निश्चित भएको विद्युत प्राधिकरण स्रोत बताउँछ ।

भारतसँग गरिएको सम्झौतामा नयाँ व्यवस्थाअनुसार नेपालले १२ घण्टा मात्र विद्युत् आयात गर्न पाउनेछ । यसले घरायसी उपभोक्तामा भने खास असर नगर्ने भए पनि औद्योगिक क्षेत्रका लागि लोडसेडिङको अवधि १२ घण्टा पुग्न सक्ने विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले जानकारी दिए ।

नेपालले भारतसँगको विद्युत् सम्झौता २०२३ मार्चमा नवीकरण गरेको थियो । जसमा दिनको समय (सन आवर)मा मात्र विद्युत् निर्यात हुने व्यवस्था गरिएको थियो । यस सम्झौतामा ५५० मेगावाट विद्युत् आयातको सीमा तोकिएको छ । भारतले उक्त सम्झौतामा ३० जुनसम्म विद्युत् निर्यात गर्ने व्यवस्था गरेको छ ।

नेपाल र भारत बीचको महाकाली सन्धिअनुसार नेपालले टनकपुरबाट १५ मेगावाट विद्युत् आयात गर्ने व्यवस्था गरेको थियो, तर तीन वर्षदेखि उक्त आपूर्ति बन्द भएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार १६:५५   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।