काठमाडौं । पछिल्लो समयमा संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध बढ्दो क्रममा रहेको छ ।
राजनीतिक दलहरूको काम कारबाही, बढ्दो भ्रष्टाचारले गर्दा नै जनता आक्रान्त भएका छन् । राजनीतिक दलहरूले निर्वाचनका बेला जनतालाई दिएका आश्वासनहरू आश्वासनमै सिमित भएका छन् । महंगीले आकाश छोएको छ त्यति हुँदा हुँदै पनि राजनीतिक दलहरू भने सत्ताको खेलमा लागेर पार्टीगत र व्यक्तिगत स्वार्थ पूरा गर्न लागि परेका हुनाले जनता सडकमा आउन बाध्य भएका हुन् ।
जनतालाई सडकमा आउन रहर होइन बाध्य पारिएको छ । २०७२ सालमा संविधान सभाबाट निर्माण भएको संविधानमा जनतामा रहेको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता बाहेक अन्य सबै विषयहरू जनताले चाहेको खण्डमा संशोधन गर्न सकिने व्यवस्था रहेको छ ।
तर, पछिल्लो समयमा सरकार र राजनीतिक दलहरूले आफ्नो अकर्मण्यता र असफलता लुकाउनका लागि संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षतालाई समेत अपरिवर्तनीय भन्न थालेका छन् ।
जनताले चाहेको अवस्थामा जनतामा रहेका सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता बाहेक अन्य सबै विषयहरू परिवर्तन हुन सक्ने भन्ने संविधानको प्रावधानलाई अन्य व्याख्या गर्न राजनीतिक दलका नेताहरू सक्रिय रहेका र संविधानकै अपव्याख्या गरिनुको औचित्य के ?
जनताभन्दा ठुलोसंविधान हुन सक्दैन । राजनीतिक दलहरूले निर्वाचनका बेला जनतालाई पूरा गर्न नै नसकिने झुठा आश्वासन बाँडेका हुनाले जनताले त्यस्ता आश्वासनहरू पूरा गर्न दवाव दिँदै आएका छन् ।
निर्वाचनको बेला झुठा आश्वासन बाँड्ने अनि निर्वाचित भएपछि आफैँले जनतालाई दिएका आश्वासनहरू पूरा गर्नुको बदला सरकार ढाल्ने र अर्को सरकार निर्माण गर्ने राजनीतिक दल तिनै दलबाट निर्वाचित भएका सांसदहरू सक्रिय रहने गरेकै कारण निर्वाचित भएको १८ महिनामै संघीय संसदले ३ वटा सरकार निर्माण गरिसकेको छ ।
छिटो छिटो सरकार परिवर्तन हुनु र अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरू पछिल्लो सरकारले स्वीकार गर्न नसक्ने प्रवृत्ति राजनीतिक दलका नेताहरूमा रहेकाले गर्दा जनताले आफूले पाउनुपर्ने आवश्यक सेवा संविधान समेत सहज रुपमा पाउन सकेका छैन यी सबै कारणहरूले गर्दा नै जनता सडकमा आएका हुन् भन्ने हेक्का दलहरूलाई हुने कि नहुने हँ ?
लोकतन्त्र प्रधानमन्त्री र मन्त्री उत्पादन गर्ने कारखाना हो त ?
फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौ फर्किँदा जनताले उनको हार्दिक स्वागत गरेका थिए । राजनीतिक दलहरू अहिले जनता किन सडकमा उत्रिए दल र सरकार कहाँ चुक्यो भनेर त्यसतर्फ ध्यान दिन छोडेर आफ्ना कमी कमजोरीलाई लुकाउन लागि परेका छन् ।
कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक पटक सत्ताको नेतृत्व गरिरहेका भएपनि जनताको जीवनस्तरमा कुनै सुधार हुन सकेको छैन । जनता महंगीको मारमा मात्र परेका मात्र छैनन्, लाखौँ युवा युवती विदेश पलायन हुन बाध्य भएका छन् ।
माओवादी केन्द्रले चलाएको १० वर्षे जनयुद्धले गर्दा मुलुकको विकास ३०/४० वर्षपछि धकेलिएको छ । माओवादी केन्द्र र सरकार दुवैले जनतालाई पिडा दिएको र माओवादीले चलाएको जनयुद्धका बेला अन्यायमा परेका र वेपत्ता पारिएका व्यक्तिको परिवारले अहिलेसम्म न्याय र क्षतिपूर्ति समेत पाउन सकेका छैनन् ।
तर, त्यही जनयुद्ध हाँकेका माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । धेरै व्यक्तिहरू मन्त्री बनिरहेका छन् । तर, उनीहरू सँगै लडेका व्यक्तिहरू भने अहिले न्यायको खोजिमा रहेका अभियान साप्ताहिकमा खबर छ ।
यी यस्तै कारणले गर्दा जनताले राजतन्त्र नै ठीक ठानेर पूर्व राजाको स्वागतमा गएका हुन् । जनता सडकमा गएपछि राजनीतिक दलहरू भने पूर्व राजालाई गाली गर्न एकजुट भएका छन् । उनीहरूको बोली मिलेको छ ।
पूर्व राजालाई गाली गर्न भन्दा आफ्ना कमी कमजोरी स्वीकार गर्दै जनतामा गएर आइन्दा हामीहरू सचिन्छौ र जनताको पक्षमा काम गर्दछौँ भन्दै जनतासामू माफी माग्नुको बदला हामीहरू नै सर्बेसर्वा हौँ भन्ने प्रवत्ति देखाउन थालेका हुनाले उचित समयमा जनताले त्यसको जवाफ दिने नै छन् ।
लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था भनेको प्रधानमन्त्री र मन्त्री उत्पादन गर्ने कारखाना होइन । लोकतन्त्रमा सबैले समान अवसर पाउनुपर्दछ । राजनीतिक दल र उनीहरूसँग रहेका व्यक्तिहरूले मात्र असर पाउने र अरुले अवसर नै नपाउने व्यवस्था किमार्थ लोकतान्त्रिक व्यवस्था हुन सक्दैन ।





















प्रतिक्रिया