काठमाडाैं । सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागिएको भन्दै विरोध गरेका छन् । आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरुले यसबारे सरकारको जवाफसमेत मागेका छन् ।
अर्थतन्त्र समस्यामा परेका बेला पूर्वविशिष्टलाई सेवा-सुविधा दिन नहुने तर्क उनीहरूको छ ।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने बताए । ‘पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कानुन बनाउन लागेको भन्ने विषय आएको छ। देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको बेलामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषय अमान्य छ,’ उनले भने ।
उनले सभामुखमार्फत् यसबारे सरकारको जबाफ पनि माग गरेका छन् ।
सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वराष्ट्रिय सभाका अध्यक्षलगायतलाई सेवा-सुविधा र सुरक्षा दिँदै आएको छ । सर्वोच्च अदालतले कानुन बनाएर मात्रै यस्तो सेवा-सुविधा दिन भनेको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले पूर्वविशिष्ट पदाधिकारीलाई सेवा-सुविधा दिने प्रस्तावमा असन्तुष्टि जनाएका छन् ।
प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले मुलुकको अर्थतन्त्र खस्किएको अवस्थामा राज्यलाई अतिरिक्त आर्थिक भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने बताए ।
प्रतिक्रिया