काठमाडाैं । एनसी एग्रो टेक इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य रु. १०० दरको १८,००,००० कित्ता आईपीओ जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा आईतबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एनसी एग्रो टेक इण्डष्ट्रिज लिमिटेडको तर्फबाट सञ्चालक दीपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
वि.सं. २०७५ कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको यस कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको टोखा नगरपालिका–८ मा रहेको छ भने उत्पादन क्षेत्र पूर्व नवलपरासी, गैडाकोट–१४, नवलपुरमा अवस्थित छ ।
कम्पनीले नेपाल सरकारको कृषि दशक अभियान अन्तर्गत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर च्याउ उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने तथा च्याउ विदेश निर्यात गर्ने लक्ष्य राखेको छ । साथै, औषधीय महत्व बोकेका यार्सागुम्बा, लायन्समाने, गानोडर्मा, टर्कीटेल, सिताके, ग्रीफोला लगायतका च्याउको माइसेलियम उत्पादन गरी क्याप्सुल निर्माण तथा निर्यात गरिरहेको छ ।
त्यस्तै, अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राइ मशरुम, मशरुम सुप, क्यान मशरुम लगायतका उत्पादनहरू गरिरहेको छ । च्याउ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ (कम्पोष्ट) उत्पादन गरी नेपालभरका किसान तथा व्यवसायिक कृषकहरूलाई वितरण गर्दै आइरहेको कम्पनीले बाँस प्रशोधनबाट निष्कने भूषलाई कोइलामा परिणत गरी वातावरणमैत्री संरचना निर्माणसमेत गरिरहेको छ ।
कम्पनीले विभिन्न खालका च्याउको व्यावसायिक तालिम, उत्पादन प्रविधि र च्याउका बीउबिजन उपलब्ध गराउँदै आइरहेको छ । साथै, अत्याधुनिक प्रविधि प्रयोग गरी बाँसका टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्का लगायतका उत्पादनहरू गर्दै आएको छ ।
यस कम्पनीमा प्रतिष्ठित व्यवसायी, च्याउ विज्ञ, कृषक, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य विशेषज्ञहरू संलग्न रहेका छन् । कम्पनीले खेर गइरहेका कृषि उपजहरूलाई उपयोग गर्दै नवीनतम प्रविधिमा आधारित च्याउ उत्पादन प्रणालीलाई विस्तार गर्ने लक्ष्य राखेको छ ।




















प्रतिक्रिया