Logo

धर्म / संस्कृति

‘दर्शनार्थीसँगको अवैध असुली रोक्न´ चन्द्रागिरी हिल्सलाई नगरपालिकाको पत्र



काठमाडौं । ‘चन्द्रागिरी हिल्स’प्रालिले भालेश्वर मन्दिर दर्शन गर्न जाने पैदलयात्रुहरूसँग अनधिकृत रूपमा रकम अशुल गरेको तथ्य बाहिरिएपछि चन्द्रागिरि नगरपालिकाले उक्त अवैध अशुली तत्काल रोक्न चन्द्रागिरी हिल्स प्रालिलाई पत्र काटेको छ ।

केवलकार सञ्चालनका लागि मात्र अनुमति पाएको चन्द्रागिरी हिल्सले पैदलयात्रुहरूसँग समेत प्रति व्यक्ति १०० रुपैयाँ शुल्क उठाउने गरेको तथ्य र प्रमाणका आधारमा नगरपालिकाले उक्त गैरकानुनी कार्य अविलम्ब रोक्न चन्द्रागिरी हिल्सलाई पत्र पठाएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीले काटेको चलानी नम्बर १२७२ नम्बरको पत्रमा भनिएको छ,- ‘प्रस्तुत विषयमा तहाँको कार्यालयबाट देश तथा विदेशवाट आउने पर्यटकहरुबाट प्रवेश शुल्क बापत रु १००/- लिने गरेको पाइएको र सो सम्वन्धमा अनियमितताका साथ रकम असुल गरेको भनी व्यापक जनगुनासो आएकोले विदेशी पाहुनाबाहेक नेपाल भित्रबाट आउने पर्यटकहरुसँग सो शुल्क लिने कार्य अविलम्व रोक्नुहुन अनुरोध छ ।’

चन्द्रागिरी हिल्स र चन्द्रागिरी नगरपालिकाकै मिलेमतोमा प्रशिद्ध भालेश्वर मन्दिरको दर्शन गर्न जाने दर्शनार्थीसँग विगत ३ महिनादेखि १०० रुपैयाँ प्रवेश शुल्क उठईरहँदा समेत स्थानीय जनप्रतिनिधि, चन्द्रागिरी नगरपालिका र प्रहरी प्रशासनले समेत कुनै चासो नदेखाएको भन्ने व्यापक गुनासो आएपछि नगरपालिकाले उक्त अवैध कार्य रोक्न तदारुकता देखाएको हो ।

चन्द्रागिरी हिल्सले राष्ट्रिय वन क्षेत्रमा अनुमति विपरीत निजी सुरक्षागार्ड राखेर दैनिक लाखौं रुपैयाँ अशुल गरिरहेको छ । यस कम्पनीले हालसम्म करिब १०,००० जनासँग झण्डै ५० लाख रुपैयाँ उठाइसकेको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार २२:४०   :  बजे

294
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।