काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा धवल शमशेर राणाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पुर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभइ संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ । यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ ।’
उनको यो भनाइबाटै स्पष्ट हुन्छ कि प्रचण्डले कतिसम्म भड्काउन खोजिरहेका छन् नेपालीलाई । पहिले सशस्त्र द्वन्द्वमा बन्दुक पड्काएर १७ हजार नेपाली मारे । पछि नेताहरूलाई थर्काएर तीन पटक प्रधानमन्त्री भए । अब भने नेपालीलाई भड्काएर धमिलो पानीमा माछा मार्न खोजिरहेका छन् ।
प्रचण्डले संसदमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई नानाथरि आरोप लगाएका छन् । उनले पूर्वराजालाई चुनाव जितेर आउन चेतावनीसमेत दिएका छन् । आफूलाई राजासँग जोड्दै चुनाव लडेर आउन भन्दै भड्किलो भाषण गरेर जनताको मन भुट्न खोजिरहेका हुन् ।
उनी आफू कति दोषी छु भनेर लुकाउन राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले दोष थोपरेर आफूले फेरि जनता झुक्याउन खोजिरहेका हुन् ।
प्रचण्ड तिनै नेता हुन् जसलाई जनताले पत्याउन छाडे पछि माओवादीको सशस्त्र द्वन्द्वलाई राजसंस्थाको साथ रहेको भनी बताएका थिए । तर, यसपालि अनावश्यक आरोप लगाइभ्याए । उनले भने, ‘राजावादीका पछि सङ्गठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् ।
तर, यस खालका चलखेल आज मात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरु हिजो पनि थिए, अस्ति पनि थिए। तर, अहिले किन बुद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ ।
पछिल्लो आठ महिनामा सत्तामा रहेका पार्टीहरुले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भनेर बुझ्न अब कठिनाइ छैन ।
आज म चेतावनीका साथ भन्न चाहन्छु नेपालको शान्ति प्रक्रिया मात्र होइन गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ । संसारभरीको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले गणतन्त्र लेखिएको पाइन्छ । तर, नेपाल त्यसको अपवाद बन्यो ।’
यस क्रममा उनले नेपालको राजसंस्थामाथि अनेक आरोप लगाउँदै आएका छन् । त्यति मात्र होइन उनले नेपालको गणतन्त्र असफलता तिर धकेलिंदै गर्दा पूर्वराजामाथि दोष थोपर्दै आइरहेका छन् । पहिलो पटकमै प्रधानमन्त्री हँदा नेपाली सेनालाई चलाउन खोज्दा कर्सीबाट हात धुन पुग्दा पनि नचेतेका प्रचण्डले राजा वीरेन्द्रको वंशनाशको घटनाका दोषीलाई कारबाही गर्न पाँच वर्ष प्रधानमन्त्री हुनुपर्ने भनिरहेका छन् ।
भ्रष्ट मानसिकता बोकेका प्रचण्डदेखि उनकै पार्टीका नेता कार्यकर्ता रूष्ट छन् । लुट्न पाएसम्म लुट्न नछाड्ने प्रचण्डले कताबाट हुन्छ आफूलाई केन्द्रमा राख्न अरूलाई आरोप लगाउन पछि पर्दैनन् । त्यस्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पनि छुट भाषा प्रयोग गर्न थालिरहेका छन् । उनले पनि पूर्वराजालाई चुनावी मैदानमा आउन चुनौती दिइरहेका छन् ।
जुन गणतन्त्रले उनलाई चार चार पटकसम्म प्रधानमन्त्री बनायो त्यही गणतन्त्रलाई सघाउन जनताको हाँसो देख्न नारायणहिटीबाट नागार्जुन गएका पूर्व राजालाई उल्टै चलखेल गरिरहेको आरोप लगाउँदैछन् ओली ।
जो बयलगाडा चढेर अमेरिका पुगिदैन भनेर २०६२-६३ को आन्दोलनलाई बेवास्ता गरेका ओली राजाले श्रीपेच सुम्पेर निर्मल निवासमा जाँदासमेत त्यस्ता राजालाई नानाथरि भनेर आफ्नो हैसियत देखाइदिएका छन् । हैसियत बिनाका मानिसहरू कसरी आफनो औकातमा आउँछन् भनेर पनि प्रचण्ड र ओलीले देखाइ दिएका छन् ।
उनीहरू गणतन्त्रको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने, विकास भन्दा बढी विनाश गर्ने, जनतालाई मान्छे नबनाउने अनि जनताले अब नेताबाट काम छैन राजा चाहियो भनेमा उल्टै राजाले खेल्न खोजे भनेर आरोप लगाउने ? अझ ओलीले त पूर्वराजा पोखराबाट काठमाडौं आउँदा हजारौं मानिस सडकमा उत्रिएर स्वागत गर्दा पनि रिसाए ।
विश्वकप नै जितेर आएजस्तै गरेर के जात्रा गरेको ? भनेर हेपाहा प्रवृत्ति पनि देखाए । जसले दि आफूलाई कथित महान् बनाउन सामाजिक सञ्जालमा साइबर स्यालहरू पालेर राखेका खबर जनभावनामा उल्लेख छ ।
जसले कुनै कार्यक्रममा जाँदा विद्यालय नै बन्द गर्न लगाएर विद्यार्थी बटुलेका छन् र जसले आफलाई स्वागत गर्न सयौँ किलोको मालाको नाममा फूलको सत्यानाश गराएका छन् तिनै ओलीलाई राजा फर्किदा गरेको स्वागत चित्त बुझेन ।
चित्त बुझोस् पनि कसरी परिवर्तन जो हुन खोजिरहेको छ । जनताले परिवर्तन चाहिरहेका छन् । अझ दलहरू त गणतन्त्र जोगाउन राजावादीलाई दमन गर्न प्रतिकारमा उत्रन अपीलसमेत गरिरहेका छन् । धवलले भनेझैँ के नेताहरूले फेरि देशलाई हिंसामा धकेल्न खोजेका हुन् ?
प्रतिक्रिया