Logo

प्रमुख समाचार

नेपाल प्रहरीका रिक्त ६ एआईजीमा बढुवाका लागि तीव्र प्रतिस्पर्धा



काठमाडौँ । नेपाल प्रहरीमा ६ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी रिक्त भएको छ । निवर्तमान आईजीपी वसन्त कुँवरसँगै उच्च प्रहरी अधिकृतहरू चैत ४ देखि अवकाशमा गएका हुन् ।

कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई एकसाथ अवकाशमा गएका हुन् ।उनीहरूकै ब्याचमेट डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि सेवानिवृत्त भएका छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार दीपक थापा आईजीपी नियुक्त भएसँगै एआईजीको रिक्त दरबन्दी ६ पुगेको छ । अब एआईजीको रिक्त दरबन्दीमा बढुवाको तीव्र प्रतिस्पर्धा देखिएको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह एआईजी हुने प्रतिस्पर्धामा छन् ।

बढुवा सूचीको पहिलो नम्बरमा डीआईजी खापुङ छन् । मेरिट सूचीको दोस्रो नम्बरमा आचार्य छन् । उनीहरू २०५२ कात्तिक २७ मा प्रहरीमा प्रवेश गरेका थिए भने २०८० वैशाख ६ मा डीआईजी भएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत खापुङले यसअघि कोशी प्रदेशको कमान्ड गरेका थिए । प्रहरी उपरीक्षक (एसपी) हुँदा कर्मचारी प्रशासन शाखा र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमान्ड गरेका खापुङ प्रहरीमा काबिल अफिसरका रूपमा चिनिन्छन् ।

आचार्य अहिले मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख छन् । मधेस प्रदेशका जिल्लाहरूमा सीमा सुरक्षा गर्न डीआईजी आचार्यले उत्कृष्ट समन्वय गरेको भन्दै सशस्त्र प्रहरी बलले गत माघमा उनलाई ‘आईजी एपीएफ कमेन्डेसन’ प्रदान गरेको थियो ।

एआईजीको प्रतिस्पर्धामा रहेका पोखरेल पनि २०५२ कात्तिकमा प्रहरी सेवा प्रवेश गरेका हुन् । पोखरेल रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री हुँदा २०८१ जेठमा पछिल्लो ब्याचसँग डीआईजी भएका थिए ।

बागमती प्रदेश कार्यालय प्रमुख रहेका पोखरेल ‘आर्थिक अपचलन’ मा संलग्न भएको आरोप छ । उनीविरुद्ध प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन गर्ने शाखामा दर्जन बढी उजुरी परेका अधिकृतहरू बताउँछन् । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्, ‘सबैभन्दा धेरै उजुरी बागमती प्रदेशका डीआईजीविरुद्ध आएको छ ।’ अधिकांश उजुरीमा उनले मातहतबाट रकम असुल्ने गरेको आरोप लगाइएको छ ।

२०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका डीआईजी कार्की, डा. केसी र अधिकारी पनि एआईजी हुने प्रतिस्पर्धामा छन् । उनीहरू २०८१ जेठमा डीआईजी भएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार २१:३७   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।