काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन दलहरू असफल भएपछि खास गरेर माओवादी केन्द्रले समाजवादी मोर्चा गठन गरेर त्यही मोर्चा मार्फत सत्तामा पुग्ने प्रयास गरिरहेको छ ।
सो मोर्चाको काम भनेको पूर्वराजासहित राजवादीहरूलाई गाली गलौज गर्नु र वर्तमान कांग्रेस–एमाले गठबन्धनको नेतृत्वको सरकारलाई घेराबन्दीमा पार्नु नै मुख्य उदेश्य रहेको प्रष्ट रुपमै देखिएको छ । राजावादीलाई गाली गर्नु भन्दा गणतन्त्रवादीहरू नै पहिला सच्चिनु आवश्यक रहेको छ । अहिले समाजवादी मोर्चामा रहेका प्राय सबै दलहरू पटक पटक सत्तामा पुगेका छन् ।
२०६२/६३ को आन्दोलन पछि सबै भन्दा बढी सत्तामा पुग्ने माओवादी केन्द्र नै हो । सत्तामा रहँदा दलहरूले राम्रो काम गर्न‘ भन्दा पनि पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थलाई हेरेर अघि बढेका हुनाले उनीहरू प्रति जनताको वितृष्णा बढेको हो ।
सरकारमा रहेका बेला राम्रो काम गर्न सकेको भए जनतामा असन्तुष्टि नै बढ्ने थिएन । समाजवादी मोर्चामा रहेका प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीन पटक मुलुकको प्रधानमन्त्री रहिसकेका छन् ।
कांग्रेस–एमालेको गत असार १७ गते भएको गठबन्धन भन्दा अघिसम्म उनले एमालेको समर्थनमा प्रधानमन्त्री रहँदा उनले कांग्रेस–एमालेलाई धम्क्याउँदै आफूलाई सत्ताबाट हटाएर देखाउन चेतावनी समेत दिँदै आएका थिए ।
जब कांग्रेस एमालेले गठबन्धन गरेर सत्तामा पुगे तब दाहाललाई छटपटी बढेको हुनाले नै अन्य केही दलहरूलाई साथमा लिएर समाजवादी मोर्चामार्फत सत्तामा पुग्ने खेलमा उनी सक्रिय रहेका छन् ।
केही दिन पहिला अर्थात फागुन २५ गते राजावादीहरूले काठमाडौमा गरेको बृहत प्रदर्शन पछि पुष्पकमल दाहाल पूर्वराजालाई अनेक प्रकारका झुठा आरोप लगाउँदै आएका छन् । राजावादीका प्रदर्शनलाई गाली गर्नुको अर्थ थिएन ।
राजनीतिक दलहरूले हालसम्म के गरे ? आफ्नो स्वार्थभन्दा माथि उनीहरू उठ्न नसकेका र आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ पूरा गर्न लागि परेका हुनाले नै उनीहरूका विरुद्ध जनता खनिएका हुन् ।
दाहाल नै प्रधानमन्त्री रहेका बेला ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपाल र बाबुराम भट्टराईलाई कानूनी कारबाही नगरी उन्मुक्ति दिने यिनै दाहाल होइनन् र ? आफ्नो स्वार्थका लागि जे गर्न पनि तयार दाहालकै कारण गणतन्त्र नै गन्हाएको हो ।
गलत भाष्यका निर्माणकर्ता दाहाल नै हुन् ?
पछिल्लो समयमा मुलुक थप संकटमा फस्दै गएको छ । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीचमा भएको ७ बँदे सहमति पश्चात् नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर सरकार निर्माण गरेपश्चात् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गुमाएका थिए ।
दाहालले अरु कसैका कारणले सत्ता गुमाएका होइनन् आफैँ घमण्ड र आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन कांग्रेस एमालेलाई चुनौती दिँदै आएका थिए ।
दाहालले कांग्रेस–एमाले दुवैलाई पटक पटक प्रयोग गर्दै आफ्नो स्वार्थ पूरा गरेका थिए । आफ्नो पार्टीका ३२ सांसद रहेका र आफ्नो पार्टीको सहयोग विना कसैले सरकार निर्माण गर्न नसक्ने उद्घोष उनले गर्दै आएका थिए ।
तब मात्र दाहालले आफ्नो हैसियत बुझे । दाहालको सोँचमा कांग्रेस–एमाले मिल्न सक्ने सम्भावना नै देखेका थिएनन् । तर, अचानक कांग्रेस–एमालेले गठबन्धन गरेर सरकार निर्माण गर्ने निर्णय गरे तब दाहाल छाँगाबाट खसेका थिए ।
आफ्नो नेतृत्वको सरकार गुमेपछि माओवादी केन्द्र सत्ता विहिन अवस्थामा पुगेका हुनाले अहिले फेरी सत्ता प्राप्तिका लागि उनले प्रयास गरिरहेको र गणतन्त्रवादीहरू मिल्नुपर्ने आवाज उठाउन थालेका छन् ।
संघीय संसदमा रहेका अन्य साना दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत अन्य दलहरूलाई आफ्नो समर्थनमा ल्याउने दाहालको प्रयास जारी रहेको छ ।
राप्रपाले राजासहितको संसदीय व्यवस्था हनुपर्ने अडान लिएको हुनाले अब राप्रपाले दाहाललाई समर्थन गर्न सक्ने सम्भावना देखिएको छैन । राजावादीहरू एक जुट नभएको अवस्थामा समेत राप्रपा राजाको पक्षमा रहेको थियो ।
ललिता निवास जग्गा काण्डमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र बाबुराम भट्टराई समेत मुछिएका हुनाले माधव नेपाल दाहालको पछाडि लाग्न बाध्य भएका हुन् ।
पुष्पकमल दाहालले सत्तामा हुँदा एउटा चरित्र देखाउने र सत्ता बाहिर हुँदा अर्को चरित्र देखाउने गरेका छन् । उनैका नेतृत्वको सरकार रहँदा नेपाल ग्रे लिष्टमा परेको सत्य वास्तविकतालाई ढाकछो प गर्न उनी लागि परेका अभियान साप्ताहिकमा खबर छ ।
नकारात्मक भाष्य निर्माण गर्ने क्रममा दाहाल सवैभन्दा अगाडि रहेका छन् । उनको पालामा भएका भ्रष्टाचार, कुशासन र मनोमानीले गर्दा नै माओवादीप्रति जनताको विशवास घट्दै गएको छ ।
अहिले जनतालाई झुक्याउनैका लागि फेरी सडक आन्दोलन गर्ने भन्दै मोर्चाबन्दी गर्दै आएका दाहालले अब राष्ट्रिय सरकार बनाउनुपर्ने उद्घोष गर्दै आएकाले फेरी सत्ताको नेतृत्वमा पुग्ने रणनीति लिएका भए पनि त्यो असम्भव रहेको छ ।
प्रतिक्रिया