काठमाडाैं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि चौतर्फी विरोध सुरु भएको छ ।
यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमेत ५ महिनादेखिको मौनता तोड्दै फेसबुकमा झुल्किएका छन् ।
सोमबार मध्यराति फेसबुक लाइभमा आउँदै उनले बजुलीबत्ती निभाएर सलाई कोर्दै मैनबत्ती बालेका छन् । १ मिनेट २२ सेकेन्डको फेसबुक लाइभमा उनले केही बोलेका छैनन् तर क्याम्पसनमा लेखेका छन्, ‘कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् ।’
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते गिरफ्तार भएयता पूर्वगृहमन्त्रीसमेत रहेका रविले फेसबुकमा कुनै पोस्ट गरेका थिएनन् ।
पक्राउ पर्नुअघि अन्तिम स्टाटस उनले त्यही दिन (अक्टोबर १८) उनले ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ शीर्षकमा लेखेका थिए ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत, कास्कीको आदेशमा उनी ६५ लाख रुपैयाँ धरौटी बुझाएर गत पुस २५ गते छुटेपछि पनि उनले फेसबुकमा कुनै पोस्ट गरेका थिएनन् ।
अहिले भने कुलमानलाई विद्युत् प्राधिकरणबाट हटाइएपछि त्यसैलाई लक्ष्य गर्दै उनी फेसबुकमा देखा परेका हुन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।




















प्रतिक्रिया