Logo

पत्रपत्रिका

कसको योजनामा बनाइयो जडीबुटी उत्पादन खरानी ?



काठमाडौं । औषधिजन्य जडिबुटी उत्पादनको धनी भएर पनि अधिकांश कच्चापदार्थ भारततर्फ र केही चीनतर्फ लगेर प्रशोधित औषधि पुनः नेपाली बजारमा ल्याइने गरेको छ ।

बहुमूल्य जडिबुटीको प्रशोधन र औषधि उत्पादन गर्न नसकिएको र आफ्नै स्रोतबाट एकमात्र उत्पादन ‘सञ्चो’ ले बजार लिइरहेको कम्पनी हो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, यही कम्पनीमाथि गिद्दे नजर लागेको थियो भारतीय उत्पादकहरुलाई । उनीहरुको मकसद पूरा गरिदिए राजवादीहरुले गत शुक्रबार । ‘राजा ल्याउन हिँडेका ती ‘राष्ट्रवादी’ हरुले एउटा राष्ट्रिय उद्योग त्यो दिन खरानी बनाए ।

शुक्रवार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका कर्मचारीहरु मुख्य कार्यालय हाताभित्र काममा व्यस्त थिए । महाप्रवन्धक संगिता यादव उपल्लो तहका दुई महिला र दुई पुरुष सहकर्मीसँग एउटा गम्भीर विषयमा बैठकमा व्यस्त थिइन् । यादवले सातै प्रदेशमा शाखा विस्तार र बजार विस्तारको विषयमा छलफल राखेकी थिइन् । केही समयअघि जाजरकोटको रातामाटामा शाखा विस्तार भएको थियो ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा शाखा र बजार विस्तारको विषयमा आवश्यक गृहकार्यमा उक्त बैठक केन्द्रित थियो । दिनको करिब साढे ३ बजेको थियो । बैठक चलिरहेकै बेला एक हुल राजावादी आन्दोलनकारीको समूहले जडिबुटीको मुख्य सडकतर्फबाट मुख्य भवनमा एक्कासी ढुंगामुढा गर्न थाले । त्यो ढुंगामुढाले मुख्य भवनको सबै सिसा झन्यमभुरुम् फुट्यों ।

आन्दोलनकारीको अर्को हुल मुख्य गेटतर्फबाट कार्यालय हातामा प्रवेश गरे । उनीहरुको हातमा पेट्रोलले भरिएका केही ग्यालेन र लाइटर थियो । गेटमा सुरक्षाको लागि तैनाथ रहेका सुरक्षागार्ड अमर रोकाले रोक्न खोज्दा उनीमाथि आन्दोलनकारीले हातपात गरेर भित्र मैदानतर्फ लखेटेका थिए । आन्दोलनकारी ढुंगामुढा गर्दै गेटबाट भित्र प्रवेश गरे ।

त्यहाँ रहेका ५-७ जना जनपथ प्रहरीको समूहमाथि पनि ढुंगामुढा गरे । ढुंगामुढाका कारण अवस्था बिग्रदै गएपछि प्रहरी जवानहरु त्यहाँबाट भाग्न बाध्य भए । प्रतिकार गर्ने कोही नभएपछि आन्दोलनकारीहरु गेटसँगै रहेको सुरक्षागार्डको कोठामा तोडफोड गरेका थिए । त्यसपछि त्यो कोठामा पेट्रोल छर्केर आगजनी गरे ।

सुरक्षागार्ड रोकाका अनुसार त्यसपछि आन्दोलनकारीले नजिकै रहेको अर्को कोठामा पनि तोडफोड गर्दै आगजनी गरे । ‘उनीहरु तोडफोड गर्न र आगो लगाउने योजना बनाएर नै पेट्रोलले भरिएका ग्यालेन र लाइटर बोकेर आएका थिए,’ सुरक्षागार्ड रोकाले भने, ‘प्रहरी र मलाई लखेटेपछि दुई कोठामा आगो लगाएर बाहिर लहरै पार्किङ गरिएका १३ वटा कार, जिप र भ्यानका साथै ६ वटा मोटरसाइकलमा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाएर क्षणभरमै खरानी बनाए ।’

यी १३ वटा ठूला सवारी साधनमध्ये कम्पनीको चार वटा चालु अवस्थाको कार, जीप र भ्यान थियो भने एक मोटरसाइकल थियो । बाँकी नौ वटा ठूला सवारी साधन र पाँच वटा मोटरसाइकल, अन्य सरकारी कार्यालयको गाडी त्यहाँ पार्किङ गरी राखिएको थियो ।

तोडफोडकारी विस्तारै मुख्य कार्यालयको भवन, कारखाना प्लान्ट, कच्चा पदार्थ स्टोरेज कोठा, प्याकेजिङ गर्ने कोठा, उत्पादित उत्पादन राख्ने कोठातर्फ पसे । त्यसमध्ये एउटा हुल मुख्य भवनको माथिल्लो तल्लामा भइरहेको बैठक कक्षमा प्रवेश गर्यो भने अर्को हुल तलको विभिन्न कोठा-कोठामा प्रवेश गरी तोडफोड गर्दै पेट्रोल छर्किंदै आगो लगाउँदै हिँड्यो ।

उनीहरुले कारखाना प्लान्ट, कच्चा पदार्थ स्टोरेज कोठा, प्याकेजिङ गर्ने कोठा, उत्पादित उत्पादन राख्ने कोठालगायत कोठामा प्रवेश गरी तोडफोड गरी आगजनी गरे । आगजनीका कारण कार्यालय हाताभित्र रहेका सानादेखि ठूला सद्दे रुख विरुवासमेत जलेर नष्ट भएका छन् । आगजनीका कारण हालै म्यानुअल्ली प्रणालीबाट अटोमेसन प्रणालीमा रुपान्तरण भएको कारखाना प्लान्ट पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

दुई वर्षअघि निर्माण भएको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस सुविधासहित दुई वटा नयाँ भवनभित्र प्रवेश गरी तोडफोडका साथै आगजनी गरी आन्दोलनकारीले जलाए । आगजनीका कारण औषधी उत्पादन गर्न प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ, उत्पादन पश्चात् प्याकेजिङ गर्ने प्लास्टिक र सिसाको बोतल, उत्पादन प्याकेजिङ गर्ने कुटको विभिन्न प्याकेट, कारखाना र अटोमेसन प्लान्ट, मेसिन तथा उपकरणका साथै फर्निचर र सम्पूर्ण कागजात जलेर नष्ट भएको छ ।

उता माथिल्लो तल्लामा पुगेको अर्को समूहले बैठक कक्षमा प्रवेश गरी अपशब्द प्रयोग गर्दै आफूहरुलाई कोठाबाहिर लखेटेको महाप्रबन्धक यादव बताउँछिन् । ‘उनीहरु हुलहुज्जत गर्ने, तोडफोड गर्ने र आगजनी गर्ने भनेर पहिलेदेखि नै प्लान बनाएर आएका रहेछन्,’ कम्पनीका महाप्रबन्धक संगिता यादवले भन्छिन्,’महिला कर्मचारीसम्मलाई उनीहरुले छाडेनन् ।

अपशब्द प्रयोग गर्दै कोठाबाट लखेटेका थिए । त्यसपछि उनीहरू कोठाभित्र मनलाग्दी रुपमा तोडफोड गर्दै पेट्रोल छर्किएर आगो लगाए ।’ यादवका अनुसार कम्पनी पछिल्लो समयमा पाँच करोड रुपैयाँको लगानीमा अटोमेसन प्रणालीमा गएसँगै मल्टिपल प्याकेजिङ प्रणालीलाई अंगिकार गरी शाखा र बजार विस्तारमा लागेको थियो।

‘यस्तो बेलामा भएको तोडफोड र आगजनीका कारण कम्पनीको उत्पादन गर्ने प्रणाली नै बिथोलियो,’ उनले भनिन्, ‘पुनः औषधीजन्य उत्पादन सुरु गर्न फेरि शून्यबाट सुरु गर्नुपर्ने बाध्यता आएको छ ।

प्लान्टसहित, कच्चा पदार्थ, प्याकेजिङ गर्ने बोतल, वट्टा र प्याकेटसमेत जलेका कारण तत्कालै उत्पादन गर्न सम्भव छैन ।’ सरकारले आवश्यक सहयोग गरेको अवस्थामा पनि तत्कालै उत्पादन सुरु गर्न कम्तिमा चारदेखि छ महिना लाग्ने उनको भनाइ छ ।

अहिले कर्मचारी बस्ने स्थानसम्म नभएकाले उत्पादन गर्न चुनौती खडा भएको छ । तोडफोड र आगजनीका कारण क्षतिको विवरण अहिले संकलन भइसकेको छैन । केही कोठामा आइतवार विहान पनि सामान्य आगो र धुवाँ आइरहेकाले उक्त आगो निभाएर क्षतिको विवरण संकलन गरिने कम्पनीका उपप्रबन्धक धर्मलाल नेपालले बताए ।

नेपालले करोडौ रुपैयाँ बराबरको भौतिक पूर्वाधार, प्लान्ट, सवारी साधन, औषधीजन्य सामग्री र कागजात जलेर नष्ट भएको जानकारी दिए । पछिल्लो समयमा यो कम्पनी उत्पादनमा विविधिकरण गर्दै १० र ५ एमएलको सन्चो वाहेक सन्चो वाम, सन्चो शिलाजित, सन्चो जटा हेयर आयल, सन्चो पेन रिलिफ आयल, सन्चो ह्यान्ड स्यानिटाइजर, पाल्मारोशा आयल उत्पादन गर्दैआएको थियो ।

यस्तै लेमनग्रास आयल, टिमुर आयल, इयुकाल्पटस आयल, मेन्था आयल, तेजपात आयल, च्मोमाइल आयल, सिट्रोनेला आयल, फ्रेन्च वेसिल आयल, जटामसी आयल र सन्चो मह उत्पादन गर्दैआएको थियो । अहिले सन्चो शुद्ध टिमुर बजारमा ल्याउने तयारी भइरहेको थियो । यो कम्पनीले उत्पादन गर्दैआएको सन्चो केहि मुलुकमा निर्यातसमेत हुँदै आएको खबर करेन्टमा उल्लेख छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको यो कम्पनी दुई वर्षअघि दुई करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । जडिबुटीको त्यो तोडफोड र आगजनीको दृष्य सामाजिक सञ्जालमा पनि छरपष्ट छ । त्यहाँ परिचालित केटाहरुलाई पकाउ गरी कठोर यातना दिँदै केरकार गरे कसको योजनामा कारखाना खरानी बनाइएको हो खुल्नेछ । राज्यले यो घटनाको अनुसन्धान गरी यथार्थ सार्वजनिक गर्नुपर्छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार २१:१७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।