काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृतिमा उल्लेखनीय वृद्धि देखिएको छ । उद्योग विभागको तथ्यांक अनुसार साउनदेखि चैत मसान्तसम्म ५७ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी एफडीआई स्वीकृत भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ अर्ब ८८ करोड रुपैयाँले बढी हो ।
विभागका अनुसार स्वीकृत एफडीआईमध्ये ५५ अर्ब ७ करोड रुपैयाँ ‘अप्रुभल रुट’ बाट र २ अर्ब ८९ करोड रुपैयाँ ‘अटोमेटिक रुट’ बाट स्वीकृत भएको छ । विशेषगरी चैत महिनामा मात्र १३ अर्ब १७ करोड रुपैयाँ बराबरको एफडीआई स्वीकृति दिइएको छ, जुन अघिल्लो वर्षको चैतको तुलनामा झण्डै १३ गुणा बढी हो ।
तथ्यांक अनुसार यस वर्ष ९ महिनामा कुल ४ सय ८० उद्योग दर्ता भएका छन् । तीमध्ये चैतमा मात्र ५३ उद्योग दर्ता भएको देखिएको छ ।
हालसम्म ४६८ साना, ८ मध्यमस्तरका र ४ ठूला उद्योग दर्ता भएका छन् ।
उद्योग वर्गीकरण अनुसार पर्यटन र सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा बढी एफडीआई केन्द्रित देखिन्छ । पर्यटनसँग सम्बन्धित १८९ र आईटीसँग सम्बन्धित १८५ उद्योग दर्ता भएका छन्, जसले गरी कुल उद्योगको झण्डै ७८ प्रतिशत ओगटेका छन् । यस्तै, सेवा क्षेत्रमा ६३, उत्पादनमा ३४, कृषि क्षेत्रमा ७, ऊर्जा र पूर्वाधारमा एक/एक उद्योग दर्ता भएका छन् । रकमका हिसाबले हेर्दा सबैभन्दा धेरै सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड र पर्यटनमा १८ अर्ब ३८ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता रहेको समेत देखिएको छ ।
व्यवसायिक भिसा (बिजनेस भिसा) लिने विदेशी नागरिकको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । अघिल्लो वर्ष चैतसम्म १,७२० जनाले यस्तो भिसा लिएका थिए भने यस वर्ष सो संख्या बढेर २,५५५ पुगेको छ ।
लगानीकर्ताको चासो र विश्वासमा वृद्धि हुनु सकारात्मक संकेतका रूपमा हेरिएको छ । साना तथा सेवा क्षेत्रमा बढी लगानी केन्द्रित हुनु दीर्घकालीन औद्योगिक विकासको दृष्टिकोणले पुनः मूल्यांकन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।




















प्रतिक्रिया